चरिकोट - राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध लगायतका संरचनाहरुको प्राबिधिक परीक्षण सोमवारबाट सुरु गरिँदैछ । दोलखाको विगु गाउँपालिका १ लामाबगरमा निर्माणाधिन आयोजनाको यही चैत्र २२ गतेसम्म बाँध, ईन्टेक, वालुवा थिग्राउने पोखरी (Settling Basin), गेट, स्टपलग लगायत अन्य हेडवक्र्सका संरचनाहरुको प्राविधिक परीक्षण गर्न लागिएको हो ।
२१ दिनको उक्त अवधिमा आयोजनाको जलाशय तथा बालुवा थिग्राउने पोखरीमा पानी भर्ने, नदीको पानी रोक्ने र छोड्ने काम गरिन्छ । आयोजनाको प्रमुख संरचनामध्ये बाँधस्थल क्षेत्रका संरचनाहरुमा समस्या भए नभएको अवस्था पत्ता लगाउनका लागि परीक्षण गर्न लागिएको आयोजना प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।
उनका अनुसार सोमबारदेखि चार दिनसम्म बाँध, मुहान गेट र डिसेन्डर बेसिन (बालुवा थिग्राउने पोखरी) मा पानी भरेर परीक्षण गरिनेछ । बाँधस्थलको आकार २२ मिटर उचाइ तथा ६० मिटर चौडाइको छ । जसमा ८ वटा ढोका छन् । चार वटा ढोकाबाट निकास हुने पानी डिसेन्डर बेसिन हुँदै मुख्य सुरुङमार्फत विद्युतगृहमा पुर्याएर विद्युत उत्पादन हुन्छ । पहिलो युनिटबाट कूल ७६ मेगावाट विद्युत उत्पादन हुनेछ ।
४ सय ५६ मेगावाट क्षमताको आयोजनाको ९९ दशमलव ३ प्रतिशत निर्माण कार्य सकिएकाले प्रमुख संरचनाको परीक्षण सुरु गर्न लागिएको हो । आयोजनाको जटिल मानिएको दुई वटा ठाडो सुरुङमा पाइप जडान गर्ने काममा भने अपेक्षित प्रगति छैन । आगामी असारभित्र आयोजनाको पहिलो युनिट सञ्चालन गर्ने लक्ष्य छ । हाल मुख्य सुरुङमा अन्तिम चरणको ढलान कार्य भैरहेको अधिकारीहरुले बताएका छन् ।
कठिन मानिएको ठाडो सुरुङमा कूल ३९५ मिटर र तल्लो ठाडो सुरुङमा कूल २५० मिटर र माथिल्लो ठाडो सुरुङमा १४५ मिटर पेनस्टक पाइप जडान कार्य भैसकेको छ । वैशाखभित्र पाइप जडान गरिसक्नेगरी काम भैरहेको छ । त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङको बीचमा रहेको तेस्रो भागमा पाइप जडान शुरु हुनेछ । त्यसका लागि करिब साढे एक महिना लाग्ने बताइएको छ ।
आगामी असारभित्र बाँकी काम पूरा गरी पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गरिनेछ । पहिलो युनिट सञ्चालनमा आएपछि क्रमशः अन्य युनिट पनि राष्ट्रिय प्रणालीमा जडान गर्दै लगिनेछ । आयोजनाका पदाधिकारी, परामर्शदाता, तीन वटै ठेकेदारले पछिल्लो कार्यतालिका भित्रै काम सक्ने प्रतिवद्धता जनाएका छन् ।
सतर्कता अपनाउन आग्रह
परीक्षणका क्रममा नदीको बहाव घटबढ हुने भएकाले नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन आयोजनाले आग्रह गरिसकेको छ । परीक्षण अवधिमा लामाबगर, छेतछेत, गोंगर, जगत, मन्थली, टुनीटार, जामुने¸ भोर्ले, सिंगटी बजार र सिंगटी बजारभन्दा दक्षिण खुर्कोट नजिकै तामाकोशी र सुनकोशी नदीको दोभानसम्म नै तामाकोशी नदीको पानीको सतह सामान्य रुपमा घटबढ भई असर पर्नसक्ने हुँदा सचेत गराईएको हो ।
यो अबधिमा तामाकोशीको तल्लो तटिय क्षेत्रमा माछा मार्ने¸ नुहाउने¸ पौडी खेल्ने, लुगा धुने वा वस्तुभाउ लैजाने जस्ता कार्यहरु गर्न पाईने छैन ।