दोलखा - विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाईरस (केभिड १९) को असर दोलखाको जलविद्युत आयोजनाहरुमा देखिन थालेको छ । चिनिया ठेकेदार कम्पनीले काम गर्दै आएका आयोजनामा कोरोना भाईरस कारण असर पर्ने सम्भावना बढेको हो । जिल्लाको सिंगटी खोला जलविद्यूत आयोजनाको काम कोरोना भाईसरकै कारण प्रभावित छ ।
आगामी चैत्र मसान्तसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनामा टरवाईनसहितको मेसिन जडान गर्ने जिम्मा चीनको प्राविधिक टोलीलाई दिईएको छ । तर कोरोनाकै कारण चिनिया प्राविधिक टोली हालसम्म नेपाल आउन सकेको छैन ।
आयोजना प्रवद्र्धक सिंगटी हाईड्रो ईनर्जी लिमिटेडका अध्यक्ष बटु लामिछानेले चीनमा फैलिएको भाईसरले मेसिन जडानका लागि चिनियाँ प्राविधिक टोली आउन नसकेको बताए । जसका कारण आयोजनाको काम प्रभावित भएको उनले बताए ।
यसैगरी राष्ट्रिय गौरबको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसि जलविद्यूत आयोजनामा पनि त्यसको असर पर्नसक्ने देखिएको छ । आयोजनाको मुख्य ठेकेदार कम्पनी सिनो हाईड्रो चिनिँया कम्पनी हो । तामाकोशी आयोजनामा कार्यरत सिनो हाईड्रोका १० जना ईन्जिनियरहरु स्वदेशमा छन् । चिनमा फैलिएको कोरोना प्रकोपकै कारण उनीहरु समयमै नेपाल फर्कन सकेका छैनन् ।
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार चिनियाँ ईन्जिनियरहरुको टोली नफर्किदा केही असजिलो भएपनि तत्काल ठुलो असर देखिएको छैन । उनीहरु लामो समयसम्म फर्कन सकेनन् भने आयोजनाको काममा प्रत्यक्ष असर पर्नसक्ने न्यौपानेले बताए ।
आगामी चैत महिनामा आयोजनाको बाँध र डिस्यान्डर बेसिन परीक्षण गर्ने तयारी छ । भोलीसम्म ३ सय ७३ मिटरको तल्लो ठाडो सुरुङमा २ सय ४० मिटर तथा ३ सय १० मिटरको माथिल्लो ठाडो सुरुङमा १ सय ५० मिटर पेनस्टक पाईप जडान सम्पन्न भईसक्ने प्रवक्ता न्यौपानेले जानकारी दिए ।