Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
१२ वर्षपछि फर्किएको हाटबजार (फोटोफिचर)

वुलुङ—करिव १२ वर्षपछि (साविक वुलुङ गाउँ विकास समिति) हाल विगु गाउँपालिका वडा नम्बर ३ पाटीगैरामा शुक्रवार फरक दृष्य देखियो । पाटीगैरामा कोही आलु, काउली जस्ता तरकारी बोकेर भेला हुँदै थिए त, कोही डोरी, डोको, डालो, थुन्चे बोकेर जम्मा भएका । कोही राँगा र खसिको मासु भाग लाउन व्यस्त थिए त, कोही किराना पसलमा व्यापार गरिरहेका ।

Caption

उक्त रोचक दृष्य १२ वर्षपछि पुन सुरु गरिएको स्थानीय हाटबजारको थियो । नेपाली उखान छ, बाह्र वर्षपछि खोलो पनि फर्किन्छ, तर यहाँ भने बाह्र बर्षपछि हाटबजार फर्केर आएको छ । लामो समयदेखि बन्द रहेको हाटबजार फेरी सुरु गरिएपछि स्थानीय दंग देखिन्थे । हाटमा तीन वडाका स्थानीयबासि उल्लेख्य रुपमा सहभागि भएका थिए । हाटमा विक्रिका लागि ल्याईएका स्थानीय उत्पादनका बस्तुहरु किनमेल त हुने भयो नै, एकआपसमा साटासाट गरेको दृष्य पनि देख्न सकिन्थ्यो ।

विगु गाउँपालिकाको लादुक, वुलुङ र वराङको बीचमा पर्ने उक्त स्थानमा बाह्र वर्षअघि त्यसैगरी हाट लाग्ने गथ्र्यो । तर झैझगडाका घट्ना धेरै हुन थालेपछि स्थानीय प्रशासनले रोक लगाएपछि हाट बन्द भयो । फेरी त्यस्ता अप्रिय घट्ना हुन नदिनेगरी स्थानीय नमुना युवा क्लवको सक्रियतामा हाटबजार सुरु गरिएको हो ।

हाटबजारको गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले भव्य कार्यक्रमकाबीच उद्घाटन गरे । त्यसक्रममा उनले स्थानीय उत्पादनका बस्तु विक्रिबितरणका लागि अब सर्बसाधरण टाढा जानु नपर्ने बताउँदै गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने वचन दिए । ३ नम्बर वडा अध्यक्ष श्रीराम खड्काले स्थानीय जनताको सहजता र सुविधाका लागि बन्द भएको हाटबजार फेरी सुरु गरिएको भन्दै यसलाई निरन्तरता दिईने बताए ।

उक्त स्थानमा अव हेरक महिनाको १५ गते हाटबजार लाग्नेछ । हाटबजार संचालन गर्न स्थानीय क्लवको प्रयासमा गाउँपालिका, ३ नम्बर वडा कार्यालय, गौरीशंकर संरक्षण क्षेत्रले सहयोग गरेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update