काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवक द्धन्द्धपिडित रहेको खुलेको छ । प्रहरीका अनुसार प्रचण्डमाथि जुत्ता प्रहार गर्ने जुम्ला जिल्ला सिञ्जाका रतन तिरुवा रहेका छन् । लोक सेवाको तयारी गरिरहेका उनी आईतवार राष्टिय सभा गृहको कार्यक्रम हेर्न गएका थिए ।
तिरुवाले भाषण चित्त नबुझेपछि आवेशमा आएर जुत्ता प्रहार गर्न पुगेको वयान दिएका छन् । प्रचण्डले भाषणका क्रममा गरेको वर्ग संघर्षको कुरा चित्त नबुझेपछि आवेशमा घटना भएको उनको भनाई छ । प्रहरी वयानमा उनले भनेका छन्, ‘भाषण सुन्दैगर्दा वर्गसंघर्षको कुरा आयो, त्यो कुरा मलाई चित्त बुझेन, आवेशमा आएर जुत्ता हानेँ’।
अन्दाजी २१ वर्षका उनका बावु सशस्त्र द्धन्द्धमा मारिएका थिए । सोही पिडाको आक्रोसमा उनले प्रचण्डमाथि जुत्ता प्रहार गरेको अनुमान गरिएको छ । राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको प्रथम स्मृतिसभामा प्रमुख अतिथिको मन्तव्य राखेर आफ्नो सिटमा फर्किने क्रममा तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए ।
दर्शक दीर्घाबाट प्रहार गरिएको जुत्ता मञ्चसम्म पुग्न भने सकेन । प्रहरीले उनीमाथि आवश्यक सोधपुछ गरिरहेपनि बोल्न अस्वीकार गरेको जनाएको छ ।