पर्वत - गृहमन्त्री रामबहादुर थापा बादलले स्थानीय तहमा भ्रष्टाचार बढेको बताएका छन् । पर्वतमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले अख्तियारका अनुसार स्थानीय तहमा सबैभन्दा बढि भ्रष्टाचार भैरहेको बताए । नेकपा केन्द्रिय सचिवालय सदस्य समेत रहेका गृहमन्त्री थापाले अख्तियारले भने अनुसार कारबाही गरिए स्थानीय तहनै खाली हुने अवस्था आउने बताए ।
स्थानीय तहका जनप्रतिनिधिलाई अख्तियारले घुससहित रंगेहात पक्राउ परिरहेको घट्नाले स्थानीय तहमा भइरहेको भ्रष्टाचार पुष्टि गरेको थापाले बताए । स्थानीय तहमा नेकपाको वर्चस्व रहेका कारण भ्रष्टाचार रोक्न पार्टीले अग्रसरता लिनुपर्नेमा उनले जोड दिए ।
देशले समाजवादी अर्थतन्त्र खोजिरहे पनि प्रतिगामी तत्वहरुलाई पार्टीकै नेता कार्यकर्ताले प्रोत्साहन दिईरहेको उनको भनाई छ । एमसिसीबारे पार्टीले गठन गरेको कार्यदलले दिएको सुझाव अनुसार अघि बढुपर्ने उनले बताए । उनले सरकारको राम्रा कामबाट आत्तिएका शक्तिहरुले पार्टी फुटाउने र सरकार ढाल्ने प्रयत्न गरिरहेपनि त्यो सफल नहुने बताए ।
केही प्रकरण र गल्तीका कारण पार्टी र सरकारलाई घेराबन्दी गर्ने अबस्था आएको र नेता तथा मन्त्रीको विषयमा विभिन्न प्रकरणहरू बाहिर आउनुले पनि पार्टीको छविलाई नकारात्मक असर गरिरहेकोछ, उनले भने ।