काठमाण्डौँ - सरकारले देशभरका समुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति दिने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्र तथा विद्यार्थी वित्तिय सहयोग कोष विकास समिति मार्फत छात्रवृत्ति प्रदान गर्न लागिएको हो । छात्रवृत्तिका लागि कोषले आगामी चैतको २० गतेसम्म फारम भर्न विद्यालयहरुलाई आव्हान गरेको छ ।
देशभरका कक्षा ८ सम्म वा कक्षा १२ सम्म संचालित सामुदायिक विद्यालय, गुरुकुल, आश्रम, गुम्वा, मदरसाहरुले छात्रवृत्ति कार्यक्रमका लागि अनलाईन आवेदन गर्न सक्नेछन् । छात्रवृत्तिका लागि विद्यार्थीहरु छनौट भएमा कक्षा ८ का विद्यार्थीले कक्षा ९ र कक्षा १० मा छात्रवृत्ति पाउनेछन् भने कक्षा १० का विद्यार्थीहरुलाई कक्षा ११ र १२ मा पुगेपछि छात्रवृत्ति रकम प्रदान गरिने विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिकी प्रशासकीय अधिकृत कलावती विष्टले जानकारी दिईन् ।
छात्रवृत्ति वापत कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययनरत विद्यार्थीलाई वार्षिक २४ हजार, अन्य विषयका विद्यार्थीलाई १८ हजार तथा कक्षा ९ र १० को लागि वार्षिक ६ हजार रकम विद्यार्थीको बैंक खातामा जम्मा गरिनेछ । विद्यालयहरुले iemis.doe.gov.np मा गएर अनलाईन आवेदन गर्न सक्नेछन् । सूचना र आवेदन गर्ने तरिका थाहा पाउन यहाँ क्लीक गर्नुहोस् ।