सिन्धुपाल्चोक — नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्टहित सुनिश्चित गरेर मात्रै एमसिसी अनुमोदन प्रक्रिया अघि बढ्ने बताएका छन् । सिन्धुपाल्चोकमा प्रथम सुकुटे महोत्सवको उद्घाटन गर्दै उनले ५५ अर्बका लागि राष्ट्रहितविपरीत सम्झौता नगर्ने बताए । एमसीसीका सन्दर्भमा पार्टीको कार्यदलले दिएको सुझाव अनुसार अघि बढ्ने भन्दै अध्यक्ष प्रचण्डले कुनैपनि सम्झौताबाट राष्टलाई अहित हुन नहुनेमा जोड दिए ।
अमेरिकासँग साझेदार, मित्रता कायम राखेर आवश्यक सहयोग लिन तयार भए पनि त्यसलाई राष्टिय हितमा प्रयोग गर्नुपर्नेमा जोड दिए । ‘कार्यदलको सुझाव अनुसार अघि बढ्छौँ, ५५ अर्बको लागि राष्ट्रविपरीत सम्झौता हुनै सक्दैनं,’ प्रचण्डले भने । श्रीलंकाली संसदले एमसीसी अस्वीकृत गरेको स्मरण गर्दै उनले भने, ‘अमेरिकाले एमसीसी संशोधन गर्न कठिन भनेको छ, तर यो कुनै बाइबल होइन, संशोधन गरेमात्रै अगाडि बढ्छौं, ।
जिल्लादेखि केन्द्रसम्म नेकपा अब एउटै पार्टी भइसकेको र यो फुट्छ भन्नु भ्रमपूर्ण कुरा मात्रै भएको उनको भनाई छ । प्रचण्डले नेकपा एकताबद्ध रहेको बताउँदै कसैले फरक विचार राख्दैमा पार्टी फुट्छ र ? भन्ने प्रश्न गरे । जिल्लादेखि केन्द्रसम्म पूर्वमाओवादी केन्द्र र पूर्वएमालेका नेता कार्यकर्ता एउटै पार्टर्टीमा गोलबद्ध भएर अघि बढ्ने प्रचण्डले दावी गरे ।
अर्को प्रसंगमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उच्च छवि बनाइसकेको हुनाले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टीले निर्णय गरेको पनि उनले बताए । उक्त निर्णय कसैले केही भन्दैमा परिर्वतन नहुने उनले बताए ।
चितवनबाट शुक्रबार सिँधै पर्यटकीय हव सुकुटे आइपुगेका प्रचण्ड शुक्रबार पत्नी सिता, छोरी गंगा दाहालसहित चौतारा साँगाचोकगढी नगरमा प्रथम सुकुटे महोत्सवको उदघाट्न गरे । त्यहाँ रहँदा उनले परिवारसहित भोटेकोसीबीचमा ‘एडभेन्चरको र्याफ्टिङ’को आनन्द लिए ।