चरिकोट – भीमेश्वर नगरपालिका–२, स्थित मञ्जुश्री पार्कलाई नयाँ पर्यटकिय गन्तव्यको रुपमा विकास गरिने भएको छ । नगरपालिकाले उक्त पार्कलाई पर्यटकहरुको आकर्षक गन्तव्य बनाउन निर्माण कार्य अघि बढाएको छ ।
पार्कको सम्पूर्ण संरचना तयार गर्न लगभग ७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । जसको डिपिआर तयार भैसकेको छ । मञ्जुश्री पार्क वडाको एउटा ड्रिम प्रोजेक्ट रहेकाले निर्माण सम्पन्न गर्न संघ, प्रदेश र स्थानीय सरकारसँग बजेट छुट्याउने पहल भैरहेको छ ।
दोलखास्थित प्रसिद्ध भीमेश्वर मन्दिरबाट उत्तरतर्फ आधा घन्टाको यात्रापछि ‘मञ्जुश्री पार्क’ पुग्न सकिन्छ । जानकारहरुका अनुसार महाचीनबाट आएका महामञ्जुश्री दोलखाको बाटो भई काठमाडौं उपत्यका पुगेकाले उक्त पार्कको नाम मञ्जुश्री पार्क राखिएको हो ।
धर्मश्रीमित्रले पछि मञ्जुश्रीको अपमान गरेका कारण उनका दुवै आँखा मञ्जुश्रीको पादुकामा खसेको मानिन्छ । दोलखामा रहेको मञ्जुश्रीको पादुकामा पनि दुई आँखा अङ्कित छन् । यही भएर मञ्जुश्रीको प्रतीकका रूपमा दुई आँखा अङ्कित पादुका बनाउने चलन काठमाडौंमा छ ।
मञ्जुश्री स्थानहरू काठमाडौंको स्वयम्भू पछाडि, भक्तपुरको सुडाल र दोलखा लगायतका ठाउँमा छन् । श्रीपञ्चमीको दिन दोलखालीहरू तिलिन्चो डाँडामा जाने परम्पराले यही कुराको पुष्टि गर्छ । डाँडास्थित मन्देश्वरी मन्दिरलाई पहिले मञ्जुश्री स्थान भनिन्थ्यो ।
दोलखामा रहेको मञ्जुश्री स्थानका बारेमा उल्लेख भएको प्राचीन अभिलेख अहिलेसम्म पाइएको छैन । यद्यपि पादुका, पादुकाको सुरक्षार्थ राखिएको ढुङ्गाको सानो मन्दिरको बनावट र शैलीलाई पुरातात्विक प्रमाणका रूपमा लिने गरिन्छ ।