काठमाण्डौं - नयाँ आर्थिक वर्षबाट निर्माण सुरु हुने तामाकोसी पाँचौ जलविद्युत आयोजनामा कर्मचारी सञ्चय कोष १२ अर्ब रुपैयाँ लगानी गर्न तयार भएको छ । ९९.५ मेगावाट क्षमताको आयोजना निर्माणका लागि कोष ऋण लगानी गर्न तयार भएको हो ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोष आयोजनामा लगानी गर्न तयार भएपछि छिट्टै ऋण लगानी सम्झौतालाई औपचारिकता दिने तयारी गरिएको जानकारी दिए । १५ अर्ब लागत अनुमाान गरिएको यो आयोजनामा कर्मचारी सञ्चय कोषले १२ अर्ब लगानी गरेपछि वित्तीय व्यवस्थापनको काम लगभग पुरा हुनेछ । बाँकी करिब ४ अर्ब रुपैयाँ स्वपुँजी जुटाईनेछ । ऋणका लागि विदेशी लगानीकर्ता एसियाली पूर्वाधार लगानी बैङ्क (एआईआईबी) ले समेत चासो देखाएको थियो ।
आयोजनामा विद्युत प्राधिकरणको ६८ प्रतिशत र सर्बसाधरणको ३२ प्रतिशत स्वामित्व रहनेगरी लगानी संरचना तयार पारिएको छ । जसमा १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका स्थानीय र बाँकी सर्वसाधारणको नाममा सेयर निष्कासन गरिनेछ ।
तामाकोशी पाचौं माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पूर्वाधारमा आधारित जलविद्युत आयोजना हो । दोलखाको सुरी दोभानमा आयोजनाको विद्युतगृह रहनेछ । क्यासकेड आयोजनाको रुपमा लिईएको यो आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा राखिएको छ । लगानी सुनिश्चित भएसँगै ठेक्का प्रक्रिया सुरु गर्ने तयारी छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युतगृहबाट निस्किएको पानी आठ किलोमिटर लामो सुरुङबाट यो आयोजनाको विद्युतगृहमा पुर्याएर विद्युत उत्पादन गर्ने योजना छ ।
हेड वक्र्सको काम नहुने भएकाले कम लगानीमा आयोजना बन्ने अनुमान गरिएको छ । जर्मन कम्पनी ट्र्याक्वेल इन्जिनियरिङले यो आयोजनाका लागि छुट्टै बाँध बनाउन नपर्ने विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ ।