चरिकोट - नेपाल पत्रकार महासंघ दोलखा शाखामाथि आर्थिक पारदर्शितादेखि स्वास्थ्य सामाग्री र कोरोना खोपको दुरुपयोग गरेको गम्भिर आरोप लागेको छ । कोरोना महामारीका बेला सक्रिय जिल्ला स्थित पत्रकारका लागि प्राप्त कोरोना विरुद्धको खोप, स्वास्थ्य सुरक्षा सामाग्री दुरुपयोग गरेको, कोभिड कोषको लागि उठाईएको रकम पारदर्शी नभएको लगायतका आरोप लागेको हो ।
प्रेस चौतारी नेपाल दोलखाले बिहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्षको नेतृत्वमा बढेको अनियमित गतिविधिले महासंघलाई नै बद्नाम गर्ने कार्य भैरहेको भन्दै आपत्ती जनाएको छ ।
चौतारीका जिल्ला संयोजक प्रभु जिरेल र सह संयोजक तारा बहादुर महतद्धारा हस्ताक्षरित विज्ञप्तीमा अग्रपंक्तिमा काम गरिरहेका पत्रकारका नाममा छुट्याईएको खोप गैरपत्रकार, आफ्ना नातागोता र आसेपासेलाई लगाईएको, पत्रकारका नाममा प्राप्त स्वास्थ्य सामग्रीहरु महासंघका केहि पदाधिकारीहले घरमा जम्मा गरेको र जथाभावी बाँडेको भन्दै सबै बिवरण सार्वजनिक गरी बास्तविक पत्रकारलाई समान ढंगले बितरण गर्न माग गरिएको छ ।
यस्तै पत्रकार कोभिड १९ सहायता कोषका नाममा जथाभावी रकम उठाईएको भन्दै पारदर्शी बनाउन र महासंघका गतिविधि संस्थागत निर्णयका आधारमा अघि बढाउन पनि माग गरिएको छ । चौतारीले दर्ता नै नभएका अनलाईन न्युज पोर्टलहरुको नामबाट गैरपत्रकारलाई प्रेसकार्ड बिक्रिवितरण गरी दुरुपयोग गरिएको, महासंघकै कतिपय पदाधिकारीबाट स्थानीय सरकार, कार्यालय, संघसंस्था, ठुला परियोजनाहरुमा धम्कीपुर्ण व्यवहार गर्दै दुख दिने गरेको गुनासो आएकाले निगरानी गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।
महासंघका सचिव दिल बहादुर केसिले भने खोपका लागि संस्थागत सिफारिस नगरिएको, स्वास्थ्य सुरक्षा सामाग्री आवश्यकता अनुसार बितरण गरिएको र कोभिड कोषको रकम पनि पारदर्शी रहेकाले महासंघको सबै गतिबिधिहरु पारदर्शी रहेको बताए ।