काठमाडौँ - नेकपा एमाले भित्र देखिएको बिवाद समाधानका लागि दुबै पक्षका नेताहरु निर्णायक पहलमा जुटेका छन् । ठोस परिणाम निकाल्नेगरी विवाद समाधानका लागि गठित कार्यदलको बैठक स्थगित गरी साँझ पुनः बस्ने भएको छ ।
नेता सुवासचन्द्र नेम्वाङका अनुसार बिहीबार दिउँसो तय भएको बैठक विवाद निष्कर्षमा पुर्याउनका लागि गृहकार्य गर्ने उद्देश्यले साँझका लागि बोलाईएको हो । छलफललाई सकभर आज निष्कर्षमा पुर्याउने तयारी भैरहेको उनले बताए ।
स्रोतका अनुसार एमाले पार्टी एकताबद्ध रहेको तयारीसहित घोषणा गर्नेगरी तयारी भैरहेको छ । त्यसका लागि नेताहरुबीच दिनभर गृहकार्य गर्नेछन् । यसअघि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको थियो ।
कार्यदल विवाद समाधाननजिक पुगेको नेताहरुको दाबी छ । कार्यदलमा भीम रावल, घनश्याम भुसाल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, गोकर्ण विष्ट र प्रदीप ज्ञवाली रहेका छन् ।