Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
तामाकोशी आयोजना : प्रतिक्षाको घडी सकियो, प्रधानमन्त्रीबाट उद्घाटन

काठमाडौं - राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट सोमवार सायं विधिवत रुपमा  बिजुली उत्पादन सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गरेका हुन् ।

४५६ मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन सुरु भएपछि आयोजनाको उद्घाटन गरिएको हो । असार मसान्तभित्रै आयोजनाको दोस्रो युनिटबाट थप ७६ मेगावाट बिजुली उत्पादन हुनेछ ।

माथिल्लो तामाकोशीमा ७६–७६ मेगावाटका ६ वटा युनिट छन् । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेक  अनुसार भदौ महिनाभित्रै सबै युनिटबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य छ ।

माथिल्लो तामाकोशी स्वदेशी लगानीको सबैभन्दा ठूलो आयोजना हो । शुरुआती लागत ३५ अर्ब रहे पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै ८० अर्ब हाराहारी पुगेको छ ।

माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादित बिजुली विद्युतगृह रहेको गोगरबाट न्यू खिम्ती सबस्टेशन हुँदै ढल्केबर पुग्नेछ । ढल्केबर सबस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा माथिल्लो तामाकोशीबाट उत्पादित बिजुली जोडिने छ ।

आयोजनाले आइतबार मात्रै गोगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको थियो । आयोजनाले शनिबार ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।

आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि यही असार १३ गतेदेखि १९ गतेसम्म आवश्यक तयारी गरिएको थियो । 

माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सवस्टेशनमा जोडिएको छ । 

सो अवस्थामा प्रणालीमा विद्युत् अपुग हुने भएकाले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकको छोटा समयका लागि विद्युत् कटौती भएको थियो । त्यस समयमा प्राधिकरणले कुलेखानी जलाशयको पानी प्रयोग गरी यथाशक्य विद्युत् कटौतीको समय कम गर्न प्रयास गरेको थियो । यसअघि आयोजनाको सुरुङमा पानी हालेर हाल पनि परीक्षणलगायतका काम नियमित गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update