–कुलमान घिसिङ
अनगिन्ती चुनौती, जोखिम, निराशा र आशा पार गर्दै स्वदेशी लगानीमा निर्माण भएको नेपालको हालसम्मकै सबैभन्दा ठूलो ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भई विद्युत् उत्पादनको चरणमा पुगेको छ । नेपालको जलविद्युत् विकासको ११० वर्षको इतिहासमा यो एउटा ऐतिहासिक उपलब्धि हो । यस अवसरमा आयोजना विकासको विभिन्न चरणमा योगदान पुर्याउनुहुने आयोजनाका पूर्व र वर्तमान नेतृत्व एवम् कर्मचारी, कम्पनीका संचालक, वित्तीय व्यवस्थापन गरी महत्वपूर्ण योगदान पुर्याउनुहुने नेपाल विद्युत् प्राधिकरण, कर्मचारी संचयकोष, नेपाल टेलिकम, नागरिक लगानी कोष र बीमा संस्थानलाई हार्दिक बधाई । साथै ठेकेदार कम्पनी तथा परामर्शदाता कम्पनीका कर्मचारी एवम् विज्ञहरू पनि बधाईका पात्र हुन् । निर्माणको सिलसिलामा ज्यान गुमाउनुभएका महानुभावहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि र अंगभंग भई कठिन जीवन विताउन बाध्य महानुभावहरूप्रति गहिरो सहानुभूति ।
आयोजना सम्पन्न गर्न चालिएका कदम
आयोजनाको पूर्वाधार निर्माण आर्थिक वर्ष २०६२/६३ मा र मुख्य संरचनाहरूको निर्माण आर्थिक वर्ष २०६७/६८ मा शुरू भएको थियो । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शुरू गरिएको राष्ट्रिय गौरवको आयोजना २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्याको चपेटामा परी करीब २० महीना बन्द अवस्थामा रह्यो । आन्तरिक रूपमा प्राविधिक र करारीय समस्याको सामना समेत गर्नुपर्यो ।
२०७३ सालको भदौमा प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएपछि मेरो पहिलो ध्यान करीब करीब बन्द अवस्थामा रहेको यो आयोजनाको निर्माण पुनः संचालनमा ल्याउनमा नै केन्द्रित भएको थियो । यस अवधिमा आयोजना स्थलमा प्रायः हरेक प्रधानमन्त्री र ऊर्जामन्त्रीहरूको अवलोकन भ्रमण भएका छन् । आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लि।को संचालक समितिको अध्यक्षको हैसियतले आयोजना व्यवस्थापनले ल्याएका हरेक समस्या आवश्यक छलफलपछि समयमै समाधान गर्दै गयौं ।
कुनै पनि कानूनसम्मत निर्णय गर्न ढिलो गर्नु हुन्न भन्ने मान्यताका साथ सञ्चालक समितिबाट आयोजनाको निर्माणलाई तीव्रता दिन हरेक निर्णयहरू तदारुकताका साथ समयमै गरिए । यसका कारण निर्माणले तीव्रता पायो । निर्माणमा व्यहोरिरहेको समस्या आयोजना व्यवस्थापन तथा ठेकेदार कम्पनीहरूबाट जानकारी लिई समाधान गर्न आयोजना स्थलमै सञ्चालक समितिको बैठक आयोजना गरिए । निर्माणमा फिल्डस्तरमा हुने समस्याको पहिचान गरी समाधान गर्न पछिल्लो चरणमा म लगायत आयोजनाका प्रमुख नेतृत्वको हरेक महीना हुने आयोजना स्थलगत भ्रमण र समस्याको तत्काल समाधान गर्ने कार्यले एकातर्फ आयोजना अगाडि बढ्न धेरै सहज भएको थियो भने अर्कोतर्फ कामलाई गति दिन निर्माणमा संलग्न सबैलाई हौसला र दबाब परेको थियो । निर्माणका क्रममा आइपर्ने हरेक समस्याको समाधान तत्काल नखोजेको भए आयोजना अझै ढिलो हुने सम्भावना थियो ।
हाइड्रोमेकानिकल [लट–२] ठेकेदार टेक्स्म्याको रेल्वे एण्ड इन्जिनियरिङको कमजोर कार्यसम्पादन निर्माणका लागि अर्को चुनौती थपियो । हाइड्रोमेकानिकल ठेकेदारको कारण आयोजना धेरैपछि धकेलिने अवस्था देखेपछि इलेक्ट्रोमेकानिकल [लट–३] को ठेकेदार एन्ड्रिच हाइड्रोलाई तल्लो ठाडो सुरुङमा पेन्स्टक पाइप जडान गर्ने लगायतका केही कठिन एवम् महत्वपूर्ण कामहरू गराउने गरी त्रिपक्षीय सहमति गरायौं । यो सहमति आयोजना सम्पन्न गर्न महत्वपूर्ण पाइला सावित भयो । अत्यन्तै कठिन काम धैर्य र सुझबुझका साथ सम्पन्न भयो । एन्ड्रिच हाइड्रो र यसका व्यवस्थापकहरूलाई धन्यवाद दिनै पर्छ ।
माथिल्लो तामाकोशीको सुन्दरता
विद्युत्गृहमा रहेका युनिटहरूबाट पूर्णरूपले व्यापारिक उत्पादन शुरू भएपछि यो आयोजनाबाट विद्युत्को उच्च मागको समय ४५६ मेगावाट र वार्षिक करीब दुई अर्ब २८ करोड युनिट ऊर्जा उत्पादन हुनेछ, जुन हाल नेपालमा खपत भइरहेको विद्युत्को करीब एक तिहाइ हो । यस आयोजनाले वर्षायामको चार महीना पूर्ण क्षमतामा उत्पादन गर्छ भने बाँकी महीना पानीको उपलब्धता अनुसार समानुपातिक रूपमा उत्पादन गर्नेछ । सबैभन्दा कम उत्पादन फागुन महीनामा करीब ९२ मेगावाट हुनेछ ।
यो आयोजनाको सबैभन्दा राम्रो विशेषता भनेको करीब ४ देखि ६ घण्टालाई पुग्ने पिकिङ जलाशय हो । यसले गर्दा हिउँदमा पनि अन्य समय [राति वा दिउँसो ] मा पानी जम्मा गरेर उच्च मागको समयमा ४५६ मेगावाट नै उत्पादन गर्न सक्छ । आयोजनाले विद्युत् प्रणालीको स्थिरता ९सिस्टम स्टाविलिटी० र विश्वसनीयता ९रिलायविलिटी० बढाउने छ । यस आयोजनाको कारणले माग कम भएको वेला [रातको समय] विद्युत् खेर जाने र माग बढी भएको वेला नपुग्ने अवस्थाबाट केही हदसम्म राहत पुग्ने छ । विशेषगरी खाना पकाउनको लागि आवश्यक विद्युत् मागलाई सन्तुलित रूपले विद्युत् आपूर्ति दिन यो आयोजना सहयोगी हुनेछ ।
किन ढिला भयो आयोजना ?
यो आयोजना सम्पन्न हुन करीब पाँच वर्ष ढिलो भएको छ । आम सर्वसाधारणदेखि राजनीतिक तहसम्म किन यति धेरै समय ढिलो भयो ? भन्ने चर्चा चल्ने गरेकोे छ । यस्तो चर्चा हुनु स्वाभाविक पनि हो । आयोजना व्यवस्थापनमा बस्ने पदाधिकारीहरूले निश्चित रूपमा जिम्मेवारी लिनै पर्छ । उनीहरूको व्यवस्थापकीय पक्ष एउटा महत्वपूर्ण पक्ष हो । तर कावु बाहिरको परिस्थितिको अवस्थालाई बिर्सेर व्यवस्थापनलाई मात्र दोष दिनु त्यति न्यायोचित हुँदैन ।
समग्रमा माथिल्लो तामाकोशी ढिलाइ हुनुका मुख्य कारणहरूमध्ये [१०] भूमिगत सुरुङको डिजाइनमा परिवर्तन [२] २०७२ सालको भूकम्प र तत्पश्चातको नाकाबन्दी, [३] हाइड्रोमेकानिकल ठेकेदारको कमजोर व्यवस्थापन तथा कार्यसम्पादन [४] विभिन्न निकायबाट सहमति र स्वीकृतिमा भएको ढिलाइ [५] पछिल्लो चरणमा कोरोनाको कारण भएको लकडाउन र त्यसबाट सृजित समस्या आदि प्रमुख रहेका छन् ।
अब कम्पनीले आयोजनाको वित्तीय पुनर्संरचना गरी ऋण र इक्विटीको अनुपात ७०ः३० कायम गर्नु उपयुक्त हुनेछ । इक्विटी ३० प्रतिशत पुर्याउन तत्काल करीब २०० प्रतिशत अग्राधिकार शेयर जारी गर्ने र सोबाट प्राप्त रकमले ऋण तिरेमा ब्याज खर्च समेत घट्न गई लगानीकर्तालाई केही वर्षपछिबाट लाभांश बाँड्न सकिनेछ
आयोजना महँगो कि सस्तो ?
माथिल्लो तामाकोशीको लागतको सम्बन्धमा विभिन्न टीकाटिप्पणी भइरहेका छन्, जुन स्वाभाविक छ । आयोजनाको लागत बढेको सत्य हो । यसका विभिन्न कारण छन् । यो आयोजनाको विस्तृत अध्ययन नरकन्सल्ट नर्वेले गरेको थियो । २०६५ सालको विस्तृत अध्ययनमा यो आयोजनाको निर्माण अवधिको ब्याज बाहेक आधार लागत अनुमान ५३ करोड ३० लाख अमेरिकी डलर थियो । प्राधिकरणले आन्तरिक कमिटी गठन गरेर यसको लागत घटाई ४४ करोड १० लाख डलर कायम गरेको थियो । जलविद्युत् आयोजनामा निर्माण चरणमा धेरै किसिमका प्राविधिक, करारीय र वित्तीय जोखिमहरू आउँछन््, जसले समय र लागत बढाउने सम्भावना प्रबल रहन्छ ।
यी जोखिमहरूको मूल्यांकन नगरिकन लागत अनुमान गर्दा शुरूमा लागत कम देखिने तर वास्तविक लागत बढ्ने हुन्छ । यो आयोजनामा पनि परामर्शदाताको लागत अनुमानमा पनि ९ करोड २० करोड डलर घटाएर अन्तिम रूप दिइएको थियो । आयोजनाको वास्तविक खर्च आजको डलरको हिसाब गर्ने हो भने परामर्शदाताले शुरूमा दिएको लागत अनुमानभन्दा बढेको देखिंदैन । समय बढेको कारणले निर्माण अवधिको ब्याज अत्यधिक वृद्धि भई आयोजनाको लागत धेरै बढ्न गएको देखिन्छ ।
हालसम्मको खर्चलाई आधार मान्दा आयोजनाको कुल खर्च करीब ५४ करोड ८६ लाख डलर हुने अनुमान गरिएको छ । शुरूमा प्रति डलरको विनिमय दर ८० रुपैयाँ लिएर लागत अनुमान गर्दा निर्माण अवधिको ब्याज बाहेक जम्मा ३५ अर्ब २९ करोड रुपैयाँ कायम भएको थियो । विदेशी मुद्राको मूल्यमा भएको वृद्धि, बजार मूल्यमा भएको वृद्धि, मुख्य सुरुङको डिजाइनमा भएको परिवर्तन, २०७२ सालको भूकम्पले गरेको क्षति आदि लगायतको कारणले लागतमा वृद्धि भएको देखिन्छ । निर्माण अवधिको ब्याज ३२ अर्ब ६२ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
शेयरधनीले पाउने लाभांश
शेयर लगानीकर्ताहरूको लागि यो आयोजनाले कति लाभांश दिन सक्छ भन्ने जिज्ञासा उठिरहेको छ । आयोजनामा लगानीकर्ताहरूको स्वपूँजी ९इक्विटी० १० अर्ब ५९ करोड रुपैयाँ मात्र रहेको छ । यो कुल लागत अनुमानको तुलनामा करीब १२ प्रतिशत मात्र हो । निर्माण अवधिको ब्याज बाहेकको शुरूको लागत अनुमानमा ऋण र इक्विटीको अनुपात ७०ः३० गरेको हुनाले आयोजनाको कुल लागतको तुलनामा इक्विटीको अनुपात थोरै आएको हो । साधारणतया निर्माण अवधिको ब्याजसहितको अन्तिम लागतमा ऋण र इक्विटीको अनुपात ७०ः३० हुनुपर्ने हो । इक्विटी कम उठाएको हुनाले पनि ऋणको मात्रा अत्यधिक बढ्न गई निर्माण अवधिको ब्याज बढ्न गएको हो ।
अब कम्पनीले आयोजनाको वित्तीय पुनर्संरचना गरी ऋण र इक्विटीको अनुपात ७०ः३० कायम गर्नु उपयुक्त हुनेछ । इक्विटी ३० प्रतिशत पुर्याउन तत्काल करीब २०० प्रतिशत अग्राधिकार शेयर जारी गर्ने र सोबाट प्राप्त रकमले ऋण तिरेमा ब्याज खर्च समेत घट्न गई लगानीकर्तालाई केही वर्षपछिबाट लाभांश बाँड्न सकिनेछ । साथै लगानीकर्ताहरूलाई शेयर बिक्रीबाट थप मुनाफा कमाउने सम्भावना समेत बढ्नेछ ।
साधारणतया आयोजना उत्पादन अनुमति पत्र लिएको पाँच वर्षभित्र सम्पन्न हुँदा व्यापारिक उत्पादन शुरू भएपछि ३० वर्षसम्म आयोजनाका शेयरधनीहरूले लाभांश लिन सकिने अवस्था रहन्छ । यो आयोजनाको उत्पादन अनुमति पत्रको अवधि उत्पादन अनुमतिपत्र जारी मिति २०६७ साल मंसीर २० गतेबाट ३५ वर्ष रहेको छ । आउँदो मंसीरमा ११ वर्ष पूरा हुने हुँदा तत्पश्चात २४ वर्ष पुगेपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । तसर्थ कम्पनीको शेयरधनीहरूले २४ वर्षको आम्दानीबाट मात्र लाभांश लिन पाइनेछ ।
ऋण लगानीकोे प्रतिफल
ऋण लगानीकर्ता संस्थाहरूले हालसम्म कुल ४४ अर्ब ऋण लगानी गरी निर्माण अवधिको ब्याज ३२ अर्ब ६२ करोड कमाइसकेको छ । ब्याजसहित पूँजीकृत ऋण ७६ अर्ब ६२ करोड हुनेछ । हाल नेपाल विद्युत् प्राधिकरणले ६ प्रतिशत र अन्य संस्थाहरूले ९.५ प्रतिशत ब्याज कायम गरेको छ । निर्माण सम्पन्न भइसकेको अवस्थामा जोखिम कम भइसकेको हुनाले अब अन्य संस्थाहरूले पनि बढीमा ७ प्रतिशत ब्याज कायम गर्न कम्पनीले अनुरोध गर्नुपर्छ । ऋण लगानीकर्ता संस्थाहरूले आयोजनाबाट निश्चित आम्दानी गरिनै रहनेछन् ।
प्राधिकरणलाई फाइदै फाइदा
माथिल्लो तामाकोशीका कारण मुलुकको विद्युत् प्रणालीको स्थायित्व र विश्वसनीयता बढ्ने मात्रै नभई प्राधिकरणको लागि मुनाफा कमाइदिने एकदमै राम्रो आयोजनाको रूपमा रहनेछ । प्राधिकरणसँग भएको विद्युत् खरीद–बिक्री सम्झौता ९पीपीए० अनुसार आयोजनाको व्यापारिक उत्पादन शुरू भएको वर्ष प्राधिकरणले खरीद गर्ने विद्युत्को दर औसतमा रु.४.०६ [हिउँद यामको चार महीना प्रति युनिट रु.६.९६ र अन्य ८ महीनाको लागि प्रति युनिट रु.३.६३० कायम गरेको छ ।
यस दरमा त्यसपछिका नौ वर्षसम्म प्रत्येक वर्ष ३ प्रतिशतका दरले वृद्धि [चक्रवृद्धि] भई नवौं वर्षमा प्रति युनिट खरीददर औसतमा रु.५.३० ९हिउँद यामको चार महीना प्रति युनिट रु.९.०८ र अन्य ८ महीनाको लागि प्रति युनिट रु।४।७३० कायम हुनेछ । यो खरीददर खिम्ती सबस्टेसनको २२० के.भी वसवारमा लिने विद्युत्को हो । यो खरीददर अहिलेसम्मकै सबभन्दा सस्तो दर हो । यसपछि प्राधिकरणको ग्राहकसम्म पुग्दा करीब १५ प्रतिशत विद्युत् चुहावट हुन्छ भन्ने मान्ने हो भने ग्राहकको मिटरमा पुग्दाको खरीददर व्यापारिक उत्पादनको पहिलो वर्ष प्रति युनिट औसत रु।४।७८ र नवौं वर्षमा प्रति युनिट औसत रु.६.२४ पुग्नेछ ।
तर प्राधिकरणले ग्राहकलाई बेच्ने विद्युत्को मूल्य हाल प्रति युनिट रु. ९.५ देखि रु.१० पर्न आउँछ । प्राधिकरणले हाल भएको संरचना र कर्मचारीबाटै माथिल्लो तामाकोशीबाट प्राप्त विद्युत् बिक्री गर्न सक्ने हुँदा थप खर्च लाग्ने छैन । तसर्थ माथिल्लो तामाकोशीको विद्युत् शतप्रतिशत देशभित्रै बिक्री गर्न सकेमा यसबाट मात्र वार्षिक करीब १० अर्ब रुपैयाँ थप मुनाफा गर्न सक्नेछ । प्राधिकरणको लागि माथिल्लो तामाकोशीको विद्युत् नगद कमाउने स्रोतको रूपमा रहनेछ । प्राधिकरणले सबभन्दा बढी विद्युत् बिक्रीबाट फाइदा गर्नेछ भने दीर्घकालीन रूपमा ४१ प्रतिशत शेयरबाट प्राप्त लाभांशबाट पनि मुनाफा आर्जन गर्नेछ ।
शेयरधनीहरूको आम्दानी वृद्धि गर्न रोल्वालिङ आयोजनाको निर्माण
रोल्वालिङ खोलाको पानी माथिल्लो तामाकोशीको ड्याममा झारेर करीब २०.६६ मेगावाटको जलविद्युत् उत्पादन गर्ने गरी रोल्वालिङ आयोजनाको विस्तृत अध्ययन भई बोलपत्र सम्बन्धी प्रारम्भिक कार्यहरू भइरहेको छ । यो आयोजनाको लाइसेन्स अपर तामाकोशी कम्पनीले लिएको छ । यो आयोजना सम्पन्न भएपछि रोल्वालिङको पानी समेत थप हुने हुँदा माथिल्लो तामाकोशीको ८ महीनाको विद्युत् उत्पादन समेत बढ्नेछ । विना लगानी माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आम्दानी बढ्नेछ । यसरी रोल्वालिङ आयोजना र त्यसको कारणले माथिल्लो तामाकोशीमा बढेको आम्दानीले गर्दा शेयरधनीहरूको लाभांश बढ्नेछ । तसर्थ रोल्वालिङ आयोजनालाई तत्काल अगाडि बढाउनुपर्छ ।
वास्तवमा माथिल्लो तामाकोशी नेपाली प्राविधिक र व्यवस्थापकहरूलाई एउटा महत्वपूर्ण पाठशाला जस्तै भएको छ । आगामी दिनमा योभन्दा ठूलाठूला आयोजनाहरू विकास गर्न धेरै अनुभव र आत्मविश्वास बढेकोे छ । नेपालको जलविद्युत् विकास स्वदेशी पूँजीबाटै गर्न सकिन्छ भन्नेमा दुईमत छैन । तर लगानीको लागि नीति, विधि, सोच र आत्मविश्वास जरूरी छ । चिलिमे र माथिल्लो तामाकोशीको सफल परीक्षणसँगै नेपालीमा एउटा आत्मविश्वास बढेको छ, नेपालीकै लगानी र नेपालीकै व्यवस्थापनमा ठूला जलविद्युत् आयोजनाहरू निर्माण सम्पन्न गर्न सकिन्छ । विगतमा भएका कमीकमजोरीलाई सच्याउँदै अझ सशक्त ढंगले स्वदेशी लगानी र व्यवस्थापनमा जलविद्युत् आयोजनाहरू निर्माण गर्न प्रोत्साहित एवम् समर्पित भएर लाग्नुपर्छ ।
स्रोत : अनलाईनखबर