Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
तामाकोसी गाउँपालिका स्थित कोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि मध्येरातमा हातपात

चरिकोट - दोलखाको तामाकोशी गाउँपालिका ४ मालु स्थित कोभिड १९ अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीमाथि गएराती आक्रमण भएको छ । गएराती साँढे ११ बजेको समयमा अस्पताल पुगेका स्थानीय ४ जना युवाहरुको समुहले डाक्टर रोविस कार्की र कार्यालय सहयोगी टोप वहादुर मिजारमाथि आक्रमण गरेको हो ।

तामाकोसी गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष होम बहादुर श्रेष्ठले मदिरा सेवन गरेका युवाहरुको समुहले चिकित्सक र कर्मचारीमाथि आक्रमण गरेको बताए । उनका अनुसार आक्रमणबाट दुबै जनाको शरिरका विभिन्न भागमा घाउचोट लागेको छ । उनीहरुलाई उपचारका लागि सदरमुकाम चरिकोट ल्याईदैछ ।

उनीहरुले खुट्टाको समस्या देखाउँदै उपचार गराउन भनेको र कोभिड अस्पताल भएकाले अन्य उपचार सेवा उपलव्ध नरहेको बताउँदा आफुहरुमाथि एक्कासी आक्रमण गरिएको पिडितहरुको भनाई छ । स्थानीयका अनुसार उनीहरु स्थानीय होटलमा मदिरा सेवन गरी बन्द रहेको गेट समेत नाघेर अस्पताल प्रवेश गरेका थिए ।

सुरुमा उनीहरुलाई अस्पतालमा कोरोनाको विरामी रहेको कारण प्रवेश नगर्न भनिएको र केही समस्या भए अन्य स्थानमा परिक्षण गराउने भन्दा आफुमाथि आक्रमण गरिएको डा. कार्कीले बताए । आक्रमण हुन थालेपछि आफुहरुले भागेर ज्यान जोगाएको उनले बताए ।

तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले कोभिड अस्पतालमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीमाथि मध्येरातमा मदिरा सेवन गरी आक्रमण गरिएको विषय जघन्य रहेकाले दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

यसैबीच आक्रमणमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले तामाकोशी गाउँपालिका मालुका गोपाल तिमलसिना, रोसन पोखरेल र विजुले नेपालीलाई नियन्त्रणमा लिएको हो । दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक भेषराज रिजालले घटनाबारे केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको बताए ।

प्रकाशित मिति: आइतबार, असार १३, २०७८  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update