काठमाडौं - चीनले १२ वर्षभित्र मंगल ग्रहमा मानिस पठाउने योजना बनाएको छ । उसले सन् २०३३ सम्ममा मंगल ग्रहमा मानिस पठाउने दिर्घकालिन योजना सार्वजनिक गरेको हो । मंगल ग्रहमा स्थायी बसोबासको लागि बेस क्याम्प बनाएपछि अनुसन्धानको काम सुरु गर्ने चीनको योजना छ ।
यसअघि अमेरिकाले पनि मंगल ग्रहमा मानिस पठाउने योजना सार्वजनिक गरिसकेको छ । गत मे महिनाको मध्यमा चीनको रोबोटिक रोभर मंगलग्रहमा अवतरण गरेको थियो । चीनको योजना अनुसार सन् २०३३, २०३५, २०३७, २०४१ र त्यसपछि पनि अन्तरिक्षयात्रीहरुलाई मंगल ग्रहमा पठाईनेछ ।
चीनको प्रमुख रकेट निर्माता चाइना एकेडेमी अफ लन्च भइकल टेक्नोलोजीका प्रमुख वाङ सियाओजुनले मंगल ग्रहमा आफ्नो मानव मिसन सुरु गर्नुभन्दा पहिला रोबोटहरु पठाउनेछ र त्यहाँ बेस स्थापना गरेपछि मंगल ग्रहबारेको खोजका लागि आवश्यक पर्ने प्रणालीको विकास गर्ने जानकारी दिए ।
मंगल ग्रहमा नै बसोबासको लागि अन्तरिक्षयात्रीहरुले त्यहाँको स्रोतको प्रयोग गर्न सक्छन् । यद्यपि त्यतिबेलसम्म चीनले अन्तरिक्षयात्रीलाई पुनः पृथ्वीमा फर्काउने प्रविधिको पनि विकास गर्नुपर्ने हुन्छ ।
अमेरिकाको अन्तरिक्ष नियोग नासाले सन् २०३० को दशकमा अन्तरिक्षयात्रीलाई मंगल ग्रहमा पठाउने र उनीहरुलाई फिर्ता ल्याउने प्रविधिको विकास गर्ने गरी काम गरिरहेको जनाएको छ ।
-एजेन्सीहरुको सहयोगमा