काठमाडौं – राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय विद्युत प्रणालीमा जोडिँदैछ । यो काम आइतबार सुरु गरेर एकहप्ताभित्र सम्पन्न गर्ने तयारी छ । ४५६ मेगावाट क्षेमताको यो आयोजनाको परीक्षण उत्पादन सफल भएपछि राष्ट्रिय प्रसारण लाईनमा जोड्न लागिएको हो ।
आयोजनाबाट उत्पादित विजुलीलाई खिम्ति सवस्टेशनमार्फत एकहप्ताभित्र राष्ट्रिय प्रसारण लाईनमा जोड्न लागिएको आयोजनाका अधिकारीहरुले जानकारी दिएका छन् । जसका लागि आईतवारदेखि शनिबारसम्म एक साताका लागि खिम्ती लामोसाँघु १३२ केभी प्रसारणलाइनको विद्यूत आपुर्ति बन्द गरिनेछ । यस बीचमा खिम्तीसहित केही आयोजनाबाट हुने विद्युत आपुर्ति समेत बन्द हुने बताईएको छ ।
नेपाल विद्युत प्राधिकरणले सार्वजानिक सूचना जारी गर्दै माथिल्लो तामाकोसीको बिजुली केन्द्रिय प्रशारण लाइनमा जोड्ने प्रयोजनको लागि खिम्ती लामोसाँघु १३२ केभी प्रसारणलाइनको विद्यूत आपुर्ति एकहप्तासम्म बन्द रहने जनाएको छ । आयोजनाका प्रवक्ता प्रवक्ता गणेश न्यौपानेका अनुसार आयोजनाबाट उत्पादित हुने बिजुली खिम्ती सवस्टेशनमा जोड्न बीचमा पर्ने खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द गर्न लागिएको हो । उत्पादित विजुली सवस्टेशनको प्रणालीमा आबद्ध गरिएसँगै पहिलो युनिटको बिजुली राष्ट्रिय प्रसारणलाइनमा प्रबाह हुनेछ ।
यसअघि विद्युत उत्पादन हुने कार्यतालिका पटक पटक परिवर्तन गरिँदै आएको थियो । दोलखाको विगु गाउँपालिका स्थित लामावगरमा निर्माण गरिएको माथिल्लो तामाकोशी आयोजना स्वदेशी लगानीको सबैभन्दा ठुलो आयोजना हो । आयोजनामा विभिन्न ६ वटा युनिटमा ७६ मेगावाटका दरले क्रमशः विद्युत उत्पादन गर्दै लगिनेछ । आगामी असार मसान्त भित्रमा ३ वटा युनिटबाट २२८ मेगावाट विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ ।