Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
राष्ट्रपतिको भेटी र गृहको बोकासहित भीमेश्वरमा क्षमापूजा

दोलखा- साक्षात भगवानको रुपमा लिईने दोलखाको भीमेश्वर मन्दिरको शिलामा पसिना आएपछि क्षमा पूजा गरिएको छ । राष्ट्रपतिले भेटी र गृहले कालो बोका पठाएपछि मंगलवार मन्दिरमा क्षमापुजा गरिएको हो । त्यसअघि पसिना पुछेको कपाससहित महाप्रसाद राष्ट्रपति कार्यालय शितल निवास पुर्र्याएको थियो ।

दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मासहितको सरकारी टोली, स्थानीय गुठियार, पुजारी र जनप्रतिनिधिहरुले देशमा कुनै अनिष्ट नहोस् भन्ने कामना सहित संयुक्त रुपमा क्षमापूजा गरे । राष्ट्रको प्रतिनिधित्व गर्दै गृह मन्त्रालयले क्षमा पूजाका लागि दुई वटा बोकासहित आवश्यक दक्षिणा पठाएको थियो । राष्ट्रपति कार्यालयबाट पनि आवश्यक दक्षिणा पठाईएको छ ।

भिमेश्वर नगरपालिका वडा नम्बर २ का अध्यक्ष विराजमान श्रेष्ठका अनुसार भिमेश्वर मन्दिर गृह मन्त्रालयले पठाएका दुई काला बोका र स्थानीयवासीका तर्फबाट दुई गरी चार वटा बोकाको बली दिएर क्षमापूजा गरिएको छ । मंगलबार बिहान ९ बजेबाट सुरु गरिएको क्षमापूजामा ११ आवर्ती, रुद्री पाठ तथा राष्ट्रमा कुनै अशुभ घटना नहोस् भन्ने कामना सहित महापूजा गरिएको थियो ।

बिहीबार बिहान ६ः२५ देखि ८ः३० सम्म झण्डै २ घण्टा मन्दिरको शिलामा पसिना आएको थियो । भीमेश्वर शिलामा पसिना आउनुलाई राष्ट्रमा अनिष्ट या सकारात्मक परिवर्तन हुने संकेतका रुपमा लिइन्छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  ०६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update