Sajha Boli :: Nepal’s Reliable Digital Newspaper

चरिकोट – दोलखा भीमेश्वर नगरपालिकाले नयाँ आर्थिक वर्ष २०७८/७९ का लागि ८८ करोड ५९ लाख भन्दा बढिको नीति तथा कार्यक्रम र बजेट सार्वजानिक गरेको छ । नगरप्रमुख भरत बहादुर केसिको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख कमला बस्नेतले कुल ८८ करोड ५९ लाख ५३ हजार ५ सय १८ रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

नगरपालिकाले पूर्वाधार विकास र सामाजिक विकासलाई नीति तथा कार्यक्रम र बजेटको प्राथमिकतामा राखेको छ । र जसमा सबैभन्दा बढि कुल बजेटको (४२.७७ प्रतिशत) अर्थात ३७ करोड ९ लाख २ हजार रुपैयाँ भौतिक पूर्वाधार विकासतर्फ छुट्याईएको छ । यसैगरी (४०.०३ प्रतिशत) अर्थात ३५ करोड ७२ लाख ६६ हजार ५ सय रुपैयाँ सामाजिक विकास तर्फ खर्च हुने अनुमान छ ।

प्रस्तावित बजेटमध्ये आर्थिक विकासतर्फ ४ करोड ४२ लाख ६३ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १ करोड ९८ लाख ५० हजार, कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा ८ करोड ५५ लाख ९२ हजार १८ रुपैयाँ विनियोजन गरिएको छ ।

यसैबीच नगरसभाले रुग्ण खरिढुंगा म्याग्नेसाईट उद्योग संचालन, तामाकोशी तेस्रो जलविद्युत आयोजना पूर्ण क्षमतामा छिटो संचालन गर्न, चरिकोट–देउराली–कालिञ्चोक सडक चरिकोट टुँडिखेलबाट नै निर्माण कार्य सुरु गराउन, भीमेश्वर नगरपालिका चक्रपथ निर्माण लगायतका योजना पुरा हुनुपर्ने भन्दै सार्वजानिक महत्वको प्रस्ताव पारित गरको छ ।

यस्तै चीन भारत जोड्ने छाटो मार्गको रुपमा परिचित उत्तर दक्षिण मार्ग भीमेश्वर नगरपालिका क्षेत्रभित्र (तामाकोसी करिडोर) बाट नै छिटो निर्माण गर्न र डाँङडुङगेडाँडामा निर्माणाधिन फिल्मसिटीको लागि संघीय सरकारबाट समेत बजेट विनियोजन गरी कार्यसम्पन्न गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने प्रस्ताव पनि नगरसभाबाट पारित गरिएको प्रवक्ता हरिबंश चौलागाईले जानकारी दिए ।

 

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update