Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
निर्माण कम्पनीलाई ७३ लाख जरिवाना

हेटौंडा — ठेक्का सम्झौतामा तोकिएभन्दा बढी नदीजन्य पदार्थ उत्खनन गर्ने निर्माण कम्पनीले ७३ लाख जरिवाना तिरेको छ । जिल्ला समन्वय समिति मकवानपुरले हेटौंडा उपमहानगरभित्र तोकिएको भन्दा बढी ढुंगा, गिट्टी, बालुवा उत्खनन गरेको भन्दै मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिलाई जरिवाना गरेको हो । कम्पनीले उक्त रकम जिल्ला समन्वय समितिको राजस्व खातामा दाखिला गरेको छ ।

जिल्लास्तरीय ढुंगा, गिट्टी, बालुवा अनुगमन तथा समन्वय समितिको २०७६ असार ५ को बैठकले तोकिएभन्दा बढी परिमाणमा नदीजन्य पदार्थ उत्खनन गर्ने मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिलाई ७३ लाख १३ हजार ८३३ रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो । हेटौंडा उपमहानगरको स्थानीय अनुगमन समितिले तोकिएभन्दा २० हजार ६४८ घनमिटर नदीजन्य पदार्थ बढी उत्खनन गरेको भन्दै २०७६ जेठ १५ मा जिससलाई प्रतिवेदनसहित पत्र लेखेको थियो ।

निर्माण कम्पनीले समितिको निर्णयमाथि चित्त नबुझेपछि उच्च अदालत पाटनको हेटौंडा इजलासमा जिसस र हेटौंडा उपमहानगरविरुद्ध मुद्दा दायर गरेको थियो । अदालतले २०७६ माघ ९ मा जिससले गरेको निर्णयको पक्षमा फैसला गरेपछि कम्पनीले जरिवाना रकम तिरेको हो ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update