Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई विस्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रवार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । पोखरेल एक स्वतन्त्र सांसद र चार दलको गठबन्धनको समर्थनमा जेठ २९ मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई प्रदेशप्रमुख सिता पौडेलले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी थिईन् ।

मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार नियुक्त भएको एकहप्ता पुरा नहुँदै विस्वासको मत लिन लागेका हुन् । जेठ २७ मा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि राजीनामा दिएका थिए ।

शुक्रबार प्रदेशसभा बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव गर्दैछन् । उनीसँगै नियुक्त चार मन्त्रीको जिम्मेवारी भने अझै तोकिएको छैन ।

असार १ मा ल्याइएको बजेट उनी आफैले वाचन गरेका थिए । नेपालीले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार र बजेट छलफललगायत काम अघि बढाउने बताउँदै आएका छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा अहिले ५९ सांसद छन् । मुख्यमन्त्रीलाई विश्वासको मत पाउन ३० सांसदको मत आवश्यक पर्छ ।

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update