Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
असार २० भित्र एसईईको नतिजा तयार पार्न विद्यालयहरुलाई परीक्षा बोर्डको निर्देशन

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले असार २० गतेभित्र एसईईको नतिजा तयार पार्न विद्यालयहरुलाई निर्देशन दिएको छ । बोर्डको निर्देशन अनुसार विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने छ । बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी यस्तो सर्कुलर जारी गरेको हो । विद्यालयले विद्यार्थीको मूल्यांकन बुझाएपछि असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने नियम बनाएको हो ।

कोरोना महामारीका कारण एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले यस वर्ष पनि विद्यालयहरुको मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरिसकेको छ । बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले नयाँ कार्यविधि अनुसार एसईईमा विद्यार्थीको मूल्यांकनको मुख्य अधिकार विषय शिक्षकलाई दिएको जानकारी दिए । नयाँ कार्यविधि सोमबार सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।

यस्तो छ, मुल्यांकन विधि
कार्यविधिमा एसईईमा विषय शिक्षकले विद्यार्थीलाई निर्माणात्मक २० प्रतिशत (विद्यार्थीको हाजिरी, प्रस्तुतिलगायत), निर्णयात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन) र प्रयोगात्मक २५ प्रतिशत अंक दिन सक्ने व्यवस्था छ । प्रयोगात्मक नभएका विषयहरुमा निर्माणात्मक २५ प्रतिशत र निर्णयात्मक ७५ प्रतिशत मूल्यांकन आधार तोकिएको छ । विषय शिक्षकले कार्यविधिले तोके अनुसार गरेको मूल्यांकन गरी विद्यालयको मूल्यांकन समितिमा पेश गर्नुपर्नेछ ।

मूल्यांकन समितिले उक्त मूल्यांकन कार्यविधिले तोके अनुसार भएकोरनभएको रुजु गरी प्रमाणित गर्नेछ । इकाइले विद्यालयले बुझाएको मूल्यांकन नतिजा रुजु एवं प्रमाणित गरी असार महिनाभित्र पठाउनुपर्नेछ । विद्यालयले गणित, अंग्रेजी, विज्ञान विषयका शिक्षक, प्रधानाध्यापक र एक जना वरिष्ठ शिक्षक समावेश गरी ५ सदस्यीय मूल्यांकन समिति बनाउनुपर्नेछ ।

 

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update