Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नर्सिङ पेशा : अवसर र चुनौती

-मुना थामी

नर्सिङ पेशा एक महान पेशा हो । नर्सिङ भनेको त्यो पेशा हो जसले व्यक्तिको स्वास्थ्य रक्षा गर्ने उपचार गर्ने रोगबाट बचाउने र पुनस्थापना गर्ने कार्य गर्दछ । दिन रात नभनी सैद्धान्तिक र व्यवहारिक दुवै तबरबाट विरामीको सेवामा तल्लीन हुनेलाई एक महान नर्स भनिन्छ ।
नर्सिङ पेशालाई फ्लोरेन्स नाइटिङ्गलले जन्मदिएकी हुन् जुन दोस्रो विश्व युद्धमा घाइते सिपाहीको सेवा गरी रोग र पिडाबाट मुक्त गराउन सहयोग गरेकाले नर्सिङ पेशाको जन्म भएको मानिन्छ ।

नेपालमा २०२१ मार्चको नेपाल नर्सिङ काउन्सिल अनुसार ७२०७५ जना रजिष्टर नर्स छन, मिडवाईफ्रि १४, अनमी ३५१६८ जना रहेका छन् । नर्सिङ पेशामा आकर्षण आज भोली बढ्दो छ । नर्सिङमा सम्भावना धेरै नै छ । नर्सिङ ड्रेस सेतो पहिरनमा हिड्न त्यति सजिलो भने पक्कै छैन । सेतो पहिरन भित्र धेरै लुकेका पात्रहरु भेटिदा रहेछन् ।

पढ्दादेखि काम गर्ने बेलासम्म सङ्घर्ष धेरै तिता मिठा पात्रहरुको अनुभव अवलोकन गर्ने अवसर मिल्दो रहेछ । कतिपय सन्दर्भमा नर्सिङ कलेजहरुमा विद्यार्थीमा कहिले नविर्सने नकारात्मक छाप बस्ने र मानसिक तनाव हुने गर्दछ । कलेज जीवनमा हुने त्यस्ता कुराले नर्सिङ पेशाको गुणस्तरमा कमी आएको अनुभुति हुन्छ ।

नर्सिङ पेशाका समस्या र चुनौती
पेशागत रुपमा हेर्दा नर्सिङ जति सजिलो देखिन्छ व्यवहारिक रुपमा त्यती नै जटिल पनि छ । नर्सिङ पेशामा व्यवहारिक ज्ञान प्राप्त गर्नुका साथै बेरोजगारी भएर बस्नुपर्ने देखि हजारौ दिदीबहिनीहरु विदेशिनु परेको छ । लाखौं खर्च गरेर पढेका दिदीबहिनीहरु वर्षैं सम्म भोलेन्टियरको रुपमा काम गर्न बाध्य छन् । भोलेन्टियर शब्दमा मात्र हटेको पाइन्छ, व्यवहारमा उस्तै छ । नाम परिवर्तन गरेर (Traning) भनेर हजारौ दिदी बहिनीहरुको श्रम शोषण गरेको पाइन्छ । अस्पतालमा आफ्नो पारिश्रमिक नपाउँदा मानसिक तनाव खेप्नु परेको छ । दिन रात नभनी विरामीको सेवामा तल्लिन नर्सहरुलाई आफ्नो पारिश्रमिक ज्यादै कम दिईन्छ ।

नेपालबाट विदशिनेको नर्सहरुको सङ्ख्या धेरै छ । नर्सिङ पेशा सम्वन्धी धेरै नकारात्मक छाप पनि बसेको छ । विदेश जानको लागि मात्रै परिवारको दवावमा नर्सिङ पढ्ने कारणले पनि यस क्षेत्रको गुणस्तर र प्रभावकारी सेवामा कमी आएको देखिन्छ । जताततै नर्सिङ कलेज स्थापना गर्ने, कुनै भागबण्डा नमिलेर हुने बिवाद र समस्याले पनि नर्सिङ विद्यार्थीमा नकारात्मक असर परेको पाइन्छ । त्यसबाट नर्सिङ पेशा र सेवाको गुणस्तरमा समेत समस्या सिर्जना गरेको छ ।

कोभिड १९ जस्ता महामारीमा नर्सहरुले अरुलाई दिनरात नभनी सेवा दिईरहेका हुन्छन् । सेवालाई आफ्नो कर्तव्य ठानेर नर्स दिदीबहिनीहरु आफुलाई विर्सिएर उपचार सेवामा समर्पित हुन्छन् । त्यसक्रममा उनीहरु विभिन्न प्राणघातक रोगको शिकार बनेको धेरै उदाहरणहरु छन् । तर सरकारले उनीहरुको लागि बिमाको कुनै व्यवस्था नगर्नु बिडम्वनाको विषय हो ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकमा नेपालमा ३८०८ हेल्थपोष्ट छन् । ती हेल्थपोष्टहरुमा सरकारले आजसम्म स्टाफ नर्सको दरवबन्दि राख्न सकेको छैन । सरकारको कारणले हजारौं नर्सहरु विदेशिन बिवस छन् । जबकी सरकारले राम्रोसँग (डब्लु एच ओ) को मापदण्ड अनुसार विरामीहरुको अनुपातका आधारमा नर्सहरुको व्यवस्थापन गर्ने हो भने नेपालमा उत्पादन भएका जनशक्ति नेपाललाई नै पुग्दैन ।

अवसर र सम्भावना :
नर्सिङ पेशामा अवसरहरु पनि धेरै छन् । एक नर्सले एक विरामी हेर्दा देश र समाजलाई नै सेवा पुग्नुका साथै बिरामीको जीवनको रक्षा हुन्छ । एकजना नर्सले एक जना विरामीको उपचार र जीवनरक्षा गर्ने क्षमता राख्छन् । कोभिड–१९ महामारीमा देशले नर्सको अभाव खेप्नुपरेको छ ।

एकातिर नर्सको अभाव देखिन्छ अर्कोतिर नर्सिङ अध्ययन गरेका जनशक्ति बेरोजगार भएर मानसिक तनावमा छन् । सरकारको कमजोर व्यवस्थापनका कारण यो समस्या निम्तिएको हो । सरकारले स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रम र योजना निर्माण गर्दा नर्सिङ विशेषज्ञहरुको प्रतिनिधित्व अत्यन्तै कम छ । जसका कारण नर्सिङ क्षेत्रको समस्या सम्वोधन हुन नसकेको हो ।

सरकार र सरोकारवालाहरुले यावत समस्याहरुको यथोचित समाधान गर्ने हो भने नर्सिङ क्षेत्रको भविष्य उज्ज्वल छ । जनशक्तिको सही उपयोग र उचित व्यवस्थापनले नर्सहरुको मनोवल उच्च हुने, सेवाको गुणस्तर प्रभावकारी हुने हुंदा त्यसले देशलाई नै फाईदा हुने हो ।

अहिले थामी समुदायमा पनि भाई बहिनीहरुको मेडिकल तर्फ आकर्षण बढेको देख्दा एकदमै खुसी लाग्छ । मेडिकल क्षेत्रमा जान चाहनेका लागि सुनौलो अवसर छन् । सरकारी एस इ इ गरेका विद्यार्थीहरुका लागि छात्रवृत्तीको सम्भावना पनि त्यतिकै छ ।

भविष्यमा पढ्ने सुनौलो अवसर छ । आर्थिक समस्याले गर्दा पढ्न पाइदैन कि भनेर पछाडि नहटौं । दृढ आत्माविस्वास र ईच्छाशक्ति लिएर नर्सिङ पेशालाई निरन्तरता दिनसके समाजलाई सेवा गर्दै हामी आफ्नो भविष्य सुनिश्चित गर्नसक्छौं ।

-मुना लामो समयदेखि नर्सिङ पेशामा क्रियाशिल छिन् ।

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update