Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
चरिकोट अस्पताललाई ‘पशुपति चौलागाई स्मृति अस्पताल′ नामाकरण गरिने

हेटौंडा - दोलखा सदरमुकाम चरिकोट स्थित चरिकोट अस्पतालको नाम जिल्लाका स्वर्गीय नेता पशुपति चौलागाईको नाममा नामाकरण गर्न प्रस्ताव गरिएको छ । वाग्मती प्रदेश सरकारले नेता चौलागाईको सम्मानमा चरिकोट अस्पतालको नयाँ नामाकरण गर्ने प्रक्रिया अघि बढाएको हो ।

शनिवार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणी पौडेलले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उक्त प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएका छन् । चरिकोट स्थित अस्पताल हाल प्रादेशिक अस्पतालको रुपमा संचालित छ ।

दोलखाकी प्रदेशसभा सांसद रचना खड्काका अनुसार अस्पताललाई पशुपति चौलागाई स्मृति अस्प्ताल नामाकरण गर्न गरिएको प्रस्ताव सकारात्मक रुपमा अघि बढेको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नती गर्न नेता चौलागाईको महत्वपुर्ण योगदान थियो ।

जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा उक्त विषय समेट्न प्रस्ताव गरेका थिए । प्रदेशसभाको बैठकले नेता चौंलागाईको निधनमा शोक प्रस्ताव पनि पारित गरेको छ । दोलखाका लोकप्रिय नेता चौलागाईको एक महिना अघि कोभिड संक्रमणपछि उपचारका क्रममा काठमाण्डौंमा निधन भएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update