Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कांग्रेस सांसद वैद्यले बिवादास्पद अभिव्यक्ति फिर्ता लिँदै मागे माफी

हेटौंडा - प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने आशयको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचित भएका कांग्रेस वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले आत्माआलोचनासहित माफि मागेका छन् । नीति तथा कार्यक्रमको छलफलमा बोल्ने क्रममा सांसद वैद्यले प्रधानमन्त्री ओलीले देश सिध्याउने भन्दै महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिएर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।

शनिवार बसेको प्रदेशसभा बैठकमा बैद्यले आफ्नो बिवादित अभिव्यक्ति फिर्ता लिँदै माफी मागेका हुन् । चौतर्फी विरोधपश्चात उनलाई पार्टीले आफ्नो अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको थियो । ‘मैले संसद्को रोस्ट्रममा उभिएर प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्रीप्रति लक्षित गर्दै मबाट प्रयोग भएको शब्दहरु आपत्तिजनक र संसदीय मर्यादाविपरीत भएको भनी मेरो संसदीय दलले उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेअनुसार आफ्नो भनाई फिर्ता लिन्छु ।’

‘हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरु राजनीतिक दलहरुलाई समेत लोकतान्त्रिक अभ्यासमा प्रेरित गर्दै संयोजन गरेको दलको एक सिपाहीको नाताले आफूले बोलेको उक्त अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह गर्दछु,’ उनले भने ।

वैद्यले सदनमा आफ्नो भनाइलाई स्पष्ट पार्न समय उपलब्ध गराइदिन सभामुख सानुकुमार श्रेष्ठलाई आग्रह गरेका थिए । ११ बजे बस्ने भनिएको बैठक एक घण्टा ढिलो बसेको थियो । उनको अभिव्यक्तिलाई लिएर एमालेले आपत्ती जनाउँदै कानुनी कारबाहीको माग गरेको थियो ।

आफ्नै पार्टीको केन्द्रीय र प्रदेशले समेत अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको थियो । सदनमै आपत्तिजनक अभिव्यक्ति दिएकाले वैद्यलाई संसद्बाटै माफी माग्न कांग्रेस सांसदहरुले आग्रह गरेका थिए ।

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update