Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
माधव नेपाल समुहका भातृ संस्थाद्धारा नयाँ पार्टी खोल्ने चेतावनी

काठमाडौं - नेकपा एमालेबाट अलग हुन लागेको माधव नेपाल समुहले निर्माण गरेको भ्रातृ संगठनहरूले पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन् ।

बिहिवार संयुक्त बक्तव्य जारी गर्दै उनीहरुले आफूहरू अहिले पनि एकतावद्ध एमालेकै पक्षमा रहेको दाबी गर्दै अध्यक्ष केपी शर्मा ओलीले गरेको अवैधानिक कार्य फिर्ता हुनुपर्ने जिकिर गरेका हुन् ।

‘प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक व्यवस्था र संबिधान गुम्ने खतरा पैदा भएको छ भने पार्टी विधानविपरीतका एकपछि अर्को गरिएका स्वेच्छाचारी निर्णयले नेकपा (एमाले) र कम्युनिष्ट आन्दोलन संकटमा परेको छ ।

संविधान, पार्टी विधान र पद्धतिविरुद्ध गरिएका सम्पूर्ण निर्णयहरू सच्याएर सुदृढ र एकतावद्ध नेकपा (एमाले) निर्माणको लागि हामी अध्यक्ष ओलीलाई आग्रह गर्दछौं, विज्ञप्तीमा भनिएको छ ।

उनीहरूले माग पूरा नभए नयाँ शिराबाट अघि बढ्ने भन्दै नयाँ पार्टी खोल्ने स्पष्ट संकेत गरेका छन् । विज्ञप्तिमा माधव पक्षीय किसान महासंघका अध्यक्ष बलराम बाँस्कोटा, महिला संघकी अध्यक्ष जयन्ती राई, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, युवा संघका नरेश शाही, प्रेस चौतारीका विश्वमणी सुवेदी लगायतले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update