चालु आर्थिक वर्ष २०७६/०७७ को पहिलो ७ महिनामा १९ अर्ब रुपैयाँ भन्दा बढीको धान र चामल आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार ७ महिनामा १९ अर्ब ५ करोड ४९ लाख ३९ हजार रुपैयाँ बराबरको धान तथा चामल आयात भएको हो । उक्त आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१ करोड ५९ लाख ८४ हजार रुपैयाँले कमी हो ।
गत आर्थिक वर्ष २०७५ र ०७६ को सोही अवधिमा १९ अर्ब ९७ करोड ९ लाख २३ हजार ४ सय रुपैयाँ बराबरको धान तथा चामल आयात भएको थियो । नेपालमा भारत, चीन, अमेरिका, जापान, थाइल्याण्ड लगायतका देशबाट धान तथा चामलको आयात हुने गरेको छ ।
यसैगरी नेपालबाट पनि विदेशमा धान तथा चामलको निर्यात हुने गरेको भन्सार विभागको तथ्याङ्क छ । विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा ४४ लाख ४३ हजार रुपैयाँ बराबरको धान तथा चामल निर्यात भएको छ । नेपालको निर्यात भारत र कोरियामा हुने गरेको छ । सो अवधिमा भारतमा ४३ लाख १० हजार रुपैयाँ र कोरियामा १ लाख ३३ हजार रुपैयाँ बराबरको धान तथा चामल निर्यात भएको छ ।
गत आवको ७ महिनाको तुलनामा धान तथा चामलको आयात समान्य घटेको देखिएपनि वार्षिक रुपमा आयात बढेको भन्सार विभागको तथ्याङ्क छ । आर्थिक वर्ष २०७४/०७५ मा २२ अर्ब ८२ करोड ४८ लाख ७ हजार रुपैयाँ बराबरको धान चामल आयात भएको थियो । गत आर्थिक वर्ष २०७५/०७६मा धान तथा चामलको आयात २४ अर्ब ६३ करोड ३ लाख ५७ हजार रुपैयाँ बराबरको भएको थियो । आर्थिक वर्ष २०७३ र ०७४ मा धान तथा चामलको आयात १८ अर्ब ७७ करोड २० लाख रुपैयाँ बराबरको धान तथा चामल आयात भएको थियो ।