Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेपाल कोरोना संक्रमण दर फैलिनेमा विश्वकै दोस्रो स्थानमा

काठमाडौँ - कोरोना संक्रमण दर फैलिने मुलुकहरू मध्ये नेपाल दोस्रो स्थानमा देखिएको छ । संक्रमण फैलिने दरमा भियतनामपछि नेपाल दोस्रो स्थानमा देखिएको हो । नेपालमा भारतभन्दा बढी अनुपातमा कोभिड पोजिटिभ देखिएसँगै दैनिक मृत्युको संख्यासमेत तुलनात्मक रूपमा धेरै छ ।

हाल भियतनाममा संक्रमण फैलिने दर २.४ छ भने नेपालमा १.६ छ । अर्थात्, नेपालमा १० जना संक्रमितले १६ जनालाई रोग सार्छन् भने भियतनाममा १० संक्रमितले २४ जनालाई रोग सारिरहेका छन् ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका चिकित्सकहरुका अनुसार कोभिड सार्ने दरको हिसाबले भारत विश्वमा ३६ औं स्थानमा रहेको छ । नेपालमा कोभिड पोजिटिभिटी दर ४५ प्रतिशत देखिनु ‘डिजास्टर’ अवस्था रहेको उनीहरुको भनाइ छ ।

भारतको दाँजोमा तुलनात्मक रूपमा नेपालमा दैनिक संक्रमितको संख्यासमेत उल्लेख्य रूपमा बढी छ । यो साता ५१ प्रतिशतले संक्रमितको संख्यामा वृद्घि देखिएको छ, जुन विश्वमै संक्रमण दरको हिसाबले दोस्रो हो । जनसंख्याको हिसाबले भारतसँग तुलना गर्दा हामीकहाँ बढी जटिल अवस्था देखिएको विज्ञहरुको भनाई छ ।

यस्तै, दैनिक कोभिडले हुने मृत्युको संख्या प्रति १० लाख जनसंख्यामा नेपालमा ३.३ छ भने भारतमा २.५ छ । कोभिड परीक्षण पोजिटिभ देखिने दरसमेत भारतको दाँजोमा नेपालमा दोब्बर देखिन्छ । हाल प्रति १० लाख जनसंख्यामा नेपालमा पोजिटिभ देखिने दर ४५.१ प्रतिशत छ भने भारतमा मात्र २२.६ प्रतिशत छ । जनसंख्याको आधारमा गत वर्षसमेत नेपालमा पोजिटिभ दर भारतभन्दा बढी थियो । 

प्रति १० लाख जनसंख्यामा कोभिडले गर्दा हुने मृत्युदरमा नेपाल विश्वमै १६ औं स्थानमा छ भने भारत ३८ औं स्थानमा छ । पहिलो स्थानमा बोस्निया हर्जगोविना छ । दैनिक संक्रमण दरमा नेपाल विश्वमा १५ औं स्थानमा देखिएको छ भने भारत २१ औं स्थानमा छ ।

कोभिड परीक्षणमा त नेपालको अवस्था अत्यन्त दयनीय छ । विश्वमा कोभिड परीक्षणअन्तर्गत नेपाल ७९ र भारत ६३ औं स्थानमा छ । नेपालमा प्रतिहजार जनसंख्यामा ०.६४ परीक्षण भएको छ भने भारतमा प्रतिहजार जनसंख्यामा १.२७ परीक्षण भएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update