काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो राजनीतिक घट्नाक्रमका विषयमा छलफल भएको छ । बालुवाटारमा सोमबार विहान भएको अध्यक्षद्वयबीचको भेटबार्ता समसामयिक राजनीतिक विषयमा केन्द्रित भएको स्रोतले बतायो । स्रोतका अनुसार भेटमा संविधान संशोधान, एमसीसी विवाद, कमिशन डिलको अडियो प्रकरणलगायतका विषयमा छलफल भएको छ।
शनिबार बसेको सचिवालय बैठकले संविधान संशोधन गर्नका लागि वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव नेपाल संयोजक रहेको कार्यदल बनाएको थियो । सोही विषयमा नेकपाभित्र र बाहिर विवाद चर्किएको छ। संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्यलाई समेत प्रधानमन्त्री बन्ने बाटो खुलेपछि मात्र सांसद बन्ने अडान बामदेव गौतमले लिएपछि नेकपाले संविधान संशोधनको तयारी थालेको हो।
गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था भए मात्र आफू मनोनीत हुन तयार रहने अडान राख्दै आएका छन्। कार्यदल गठन विवादमा परेपछि नेताहरूले यस विषयमा दुई थरी कुरा गर्न थालेका छन्। निर्णय सार्वजनिक भएपछि सचिवालय सदस्यमै मत बाझिएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच यो विषयको बुझाइमै अन्तर देखिएको छ। ओली पक्षले यो निर्णय सचिवालयमा नभएको तर्क अघि सारेको छ। सचिवालयकै केही नेता भने बैठकमा छलफल भई कार्यदल गठन गर्ने निर्णय भएको जिकिर गरेका छन्।