चरिकोट – दोलखा जिल्लामा कोरोनाका संक्रमित बिरामीहरुलाई अक्सिजन दिएर उपचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ । कोरोना संक्रमित मध्ये करिब एक चौथाई बिरामीहरुलाई अक्सिजनको सहयोगमा उपचार गर्नुपर्ने अवस्था आएको हो ।
जिल्लामा दुई दर्जन बढि सक्रिय कोरोना संक्रमित छन् । तीमध्ये एक चौथायी बिरामीलाई अक्सिजनको सहरामा उपचार गरिरहनुपर्ने अवस्था सिर्जना भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले आज एक अपील जारी गर्दै सम्भावित भयानक परिस्थितिलाई मध्येनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैलाई सचेत गराएको छ ।
“दोलखा जिल्लामा केहीदिन यता कोभि–१९ संक्रमण हुने दर तिब्र गतिमा बढिरहेको र संक्रमित मध्ये करिव एक चौथाई बिरामीलाई अक्सिजनको सहयोगमा उपचार गरिरहनुपर्ने अवस्था सिर्जना भईसकेकाले आम दोलखा जिल्लाबासीले सम्भावित भयानक परिस्थितिलाई मध्येनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डहरु कडाईका साथ पालना गरी आफू र परिवारलाई संक्रमण हुनबाट बचाउन हार्दिक अनुरोध गर्दर्छौ”, जारी गरिएको अपीलमा भनिएको छ ।