काठमाडौं : नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी प्राबधान हटाउन ध्यानाकर्षण गराएको छ । उक्त प्रावधान सच्याएर मात्रै संसदबाट पास गर्न महासंघले सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको हो ।
महासंघको टोलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु रहेकाले त्यसलाई बन्देज लगाउने प्रावधानलाई सच्याउन ध्यानाकर्षण गराएको कार्यबाहक अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । कार्यबाहक अध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्टसहितको टोलीले सोमबार सभामुख सापकोटालाई भेटेर अभिव्यक्ति स्वतन्त्रतासँग सरोकार राख्ने कानून निर्माण गर्दा सरोकारवालाको आवाज सुन्न पनि आग्रह गरेको छ ।
‘मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयकलगायत सम्पूर्ण विधेयकलाई संसदीय प्रक्रियाबाट टुंग्याउने क्रममा सरोकारवालाको आवाज सुन्न, संबोधन गर्न र उनीहरुसँग ब्यापक छलफल गर्ने कुरालाई पनि सँगसँगै लैजाने विषयलाई सम्माननीय सभामुख महोदयले विशेष ध्यान दिनु हुनेछ भन्ने हाम्रो विश्वास छ’ महासचिव विष्टले भने ।