काठमाडौँ - देशभर अनुमानित ७० लाख परिवार, ३ करोडभन्दा बढी जनसंख्याको गणना गर्न तथ्यांक विभाग अन्तिम तयारीमा जुटेको छ । त्यसका लागि मुख्य ८० वटा प्रश्नावली तयार गरिएका छन् । अबको केही साताभित्र सबै तयारी सकिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार यो राष्ट्रिय अभियानमा देशका सबै तह, तप्का, निकाय, समुदाय, परिवार, सबैखाले व्यक्तिको सहभागिता जुटाउने गरी तयारी अघि बढाईएको छ । जनगणना सुरु हुन अब ६ सातामात्र बाँकी छ । जेठ २५ बाट सुरु हुने १२ औं राष्ट्रिय जनगणना असार ८ मा सकिनेछ ।
मुलुकमा बसोबास गरेका सबै व्यक्तिको घरदैलोमा गणकहरू एकै समयमा पुगेर निर्धारित समयभित्र परिवारका सबैको जनसांख्यिक, सामाजिक तथा आर्थिक विवरण संकलन हुनेछन् । संकलित तथ्यांकको प्रशोधन, सारिणीकरण (टेबुलेसन) र प्रकाशन गरेपछि जनगणना प्रक्रिया पूरा हुन्छ । जनगणनाको मुख्य प्रश्नावली घरमूलीलाई सोधिनेछ ।
जसमा पाँच वर्षमाथिकाको व्यक्तिगत विवरण नाम, थर, जातरजाति, लिंग, जन्मदर्ता, उमेर, पुर्खाको भाषा, मातृभाषा, दोस्रो भाषा, धर्म सोधिनेछ । नीतिअनुसार प्रत्येक नागरिकले कम्तीमा आधारभूत तह (कक्षा ८) उत्तीर्ण गरेको हुनुपर्छ ।
सरकारबाट आधारभूत सुविधा उपभोगका निम्ति प्रत्येक व्यक्तिको शैक्षिक अवस्थाबारे प्रश्न सोधिनेछ । औपचारिक वा अनौपचारिक शिक्षा र स्वअध्ययनसमेत खुलाइनेछ । प्रत्येकलाई १२ महिनामा कुनै पनि आम्दानी हुने काम गरेरनगरेको, आम्दानीको स्रोत, पेसा, क्षेत्रबारे पनि प्रश्न सोधिनेछ । परिवारका कुनै सदस्य अपांगता भएका छन् भने त्यसलाई स्पष्ट उल्लेख गर्नुपर्नेछ । वैवाहिक स्थिति, १५ देखि ४९ वर्षसम्मका विवाह गरेका महिलालाई प्रजननसम्बन्धी प्रश्न सोधिनेछ ।
१८ वर्षभन्दा कम उमेरकालाई कोसँग बस्दै आएको भनेर पनि विवरणमा खुलाइनेछ । बसाइँसराइ, परिवारमा अक्सर बसोबास गर्ने सदस्य, परिवारमा अनुपस्थित स्वदेशमै रहेका र विदेश गएका संख्या तथा महिलारपुरुष उल्लेख हुनेछ । विदेशमा रहेका व्यक्तिको नाम, थर, लिंग, शिक्षा, अवधि, जानुको कारण, देश खुलाइनेछ । प्रविधि प्रयोगले जनगणना कार्य छिटो र छरितो तुल्याउँछ ।
त्यसका साथमा प्रत्येक प्रश्नको उत्तरलाई कोड (सांकेतिक अंक) प्रयोग गरिनेछ । घरको जगदेखि छानासम्मको संरचनाबारे पनि गणकले प्रश्न सोध्नेछन् । घरको खानेपानीको मुख्य स्रोत उल्लेख हुनेछ । खाना पकाउन प्रयोग गरिने इन्धन, बालिने बिजुली वा अन्य ऊर्जाबारे पनि टिपोट गरिनेछ ।
जनगणनाको प्रश्नावलीमा ल्यान्डलाइन टेलिफोन र मोबाइलसमेत समेटिएको छ । मोबाइल साधारण कि स्मार्ट भनेर खुलाइनेछ । घरमा रेडियो, टेलिभिजन, कम्प्युटररल्यापटप, इन्टरनेट, काररजिपरभ्यान, मोटरसाइकलरस्कुटर, साइकल छन्रछैनन्, विद्युतीय पंखा, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर छरछैन उल्लेख गर्नुपर्नेछ । यस्ता साधनले नागरिकको जीवनस्तर मापन गर्न सघाउ पुर्याउने विभागका अधिकारीहरुको भनाई छ ।
प्रत्येक परिवारमा महिलाको नाममा घर, जग्गा भए नभएको प्रश्न सोधिनेछ । व्यवसायको सञ्चालक पुरुष या महिला को हो भन्नेसमेत समेटिएको छ । नयाँ जनगणनाले स्थानीय तहको नीति, योजना, कार्यक्रम बनाउन यसले ठूलो मद्दत पुर्याउँने अपेक्षा छ । विभिन्न जातजाति, भाषा, धर्म, क्षेत्र, वर्ग, लिंग, उमेर समूहका व्यक्तिहरूको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्ने आधार यही तथ्यांक रहेको महानिर्देशक श्रेष्ठले बताए ।
देशभरि सात प्रदेश, ७७ जिल्ला र केही ठूला जिल्लामा एकभन्दा बढी रहने गरी ८७ वटा जनगणना कार्यालय स्थापना गरिएका छन् । जनगणनामा ८ हजार जना सुपरिवेक्षक र ३९ हजार गणक खटाइनेछन् । जनगणना गर्न पूरा खर्च साढे ४ अर्ब रुपैयाँ लाग्ने विभागले जनाएको छ ।
सुपरिवेक्षकले वैशाख १६ देखि जेठ १४ गतेभित्र पहिलो चरणमा ‘घर तथा घरपरिवार सूचीकरण प्रश्नावली’ सोध्नेछन् । दोस्रो चरणमा जेठ २५ गतेबाट असार ८ गतेभित्र देशभरि एकसाथ जनगणना कार्य हुनेछ । जनगणना ‘मोडिफाइड डि जुरे’ विधिअनुसार कुनै व्यक्ति अक्सर ९६ महिनाभन्दा बढी, जहाँ बसोबास गर्छ, त्यहींबाट गणना गरिनेछ । साथै घर नभएका (सडक बालबालिका, मगन्ते, फिरन्ते, जोगी, संन्यासी जस्ता) व्यक्तिको गणना अन्तिम दिन लिइनेछ ।
जनगणना २०६८ को तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ । जसमध्ये ५१ दशमलव ५ प्रतिशत महिला र ४८ दशमलव ५ प्रतिशत पुरुष छन् । नेपालमा १९६८ सालदेखि हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । विभागको कार्यतालिकाअनुसार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा तीन महिनाभित्र प्रकाशन हुनेछ ।