काठमाडौं - नेपालले नेदरल्याण्ड्सलाई पराजित गर्दै त्रिकोणात्मक टी २० सिरिजको उपाधि जितेको छ । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गरेको हो । कुशल भुर्तेलसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीले शानदार ब्याटिङ गरे ।
उनीहरुको ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गर्न सफल भयो । जवाफमा नेदरल्याण्ड्सले १७।२ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।
नेदरल्याण्ड्समाथि हात पारेको १४२ रनको जित टी-२० अन्तराष्ट्रिय नेपालको कीर्तिमानी जित हो । यसअघि नेपालले १३ औं सागमा भुटानलाई १४१ रनले पराजित गरेको थियो । साथै नेपालले घरेलु मैदानमा ११ वर्षपछि पहिलो उपाधि जितेको हो । यसअघि सन् २०१० मा नेपालमै भएको आईसीसी डिभिजन फाइभको उपाधि नेपालले जितेको थियो ।
डच टोलीलाई तीन अंकको स्कोर समेत बनाउन नदिने क्रममा नेपाली बलरहरूले यस सिरिजकै उत्कृष्ट प्रदर्शन गरे । नेदरल्याण्ड्सका लागि सेबास्टिएन ब्राटले अविजित रहँदै सर्वाधिक २६ रन बनाए । यस्तै म्याक्स ओ डोले २० र कप्तान पिटर सिलारले १३ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सको सुरुवात राम्रो हुन सकेन । नेपारल्याण्ड्सले दोस्रो ओभरमै ओपनर टोबियस भिसेलाई २ रन गुमायो । उनलाई आसिफ शेखले डिरेक्ट हिटमार्फत रनआउट गरे ।
चौथो ओभरको अन्तिम बलमा बेन कुपर आउट भए । कमल सिंह ऐरीको बलमा उनलाई उनलाई कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट क्याच गर्दै आउट गरे । पाँचौ ओभरको पाँचौं बलमा कुशल भुर्तेलले उत्कृष्ट रनआउट गरे । एक रन बनाएका डच बास डेलाई लिड पोइन्टमा रहेका भुर्तेलको डिरेक्ट हिटमा रनआउट भए ।
छैटौं ओभरको चौथो बलमा करण केसीले नेदरल्याण्ड्सका ओपनर म्याक्स ओ डोडलाई बोल्ड गरे । १९ बलको समना गरेका ओ डोडले दुई चौका र एक छक्काको मद्दतमा २० रन जोडेका थिए ।
विशाल लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ६ ओभरको पावर प्लेमा ४ विकेट गुमाएर ३७ रन मात्र बनाएको थियो । त्यसपछि पनि नेपाल बलरहरुले नेदरल्याण्ड्सका ब्याट्सम्यानहरुलाई खेलमा फर्किने अवसर नै दिएनन् ।
करण केसीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । कमल सिंह ऐरी र सन्दीप लामिछानेले समान २/२ विकेट लिँदा अविनाश बोहोराका नाममा एक विकेट रहृयो ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो ।