चरिकोट - दोलखाको प्रसिद्ध कालिञ्चोक क्षेत्रमा बाक्लो हिमपात भएको छ । बैशाख महिनामा हिमपात भएपछि पर्यटकको आवागमन बढ्ने भएपछि स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् ।
बिहीबार झन्डै ४ घण्टा हिमपात भएको सुनापाति होटल संचालक हरि ओलीले जानकारी दिए । मौसममा बदली आएसँगै बिहीबार बिहानैबाट कालिञ्चोक क्षेत्रमा हिमपात भएको हो । भारी हिमपातसँगै ।कालिञ्चोक मन्दिर क्षेत्रमा पर्यटकहरुको घुईचो लागेको छ ।
अपरान्हसम्म ५ सय भन्दा बढी पर्यटक हिउँसँग रमाउन कालिञ्चोक भ्रमणमा आएको ओलीले बताए । कोरोनाको दोस्रो लहर सुरू भएपछि कालिञ्चोकमा पर्यटक आवागमन घटेको थियो । तर एक्कासी हिमपात भएपछि पर्यटकहरु ठुलो संख्यामा कालिञ्चोक भ्रमणमा निस्किएका हुन् ।
स्थानीयका अनुसार मौसम सफा भै नसकेकोले पुनः हिमपातको सम्भावना छ । कालिञ्चोक क्षेत्रमा करिब १ फिट हिउँ जमेको व्यवसायीहरुले बताएका छन् ।