Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
तामाकोशी–५,जलविद्युत आयोजना निर्माणको अन्तिम तयारी

काठमाण्डौं - नयाँ आर्थिक वर्षबाट तामाकोसी–५ जलविद्युत आयोजना निर्माण कार्य अघि बढाउनेगरी अन्तिम गृहकार्य अघि बढेको छ । ९९.५ मेगावाट क्षमताको उक्त आयोजना निर्माणका लागि वित्तिय व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको छ । तामाकोशी पाचौं माथिल्लो तामाकोसी आयोजनाको पूर्वाधारमा आधारित अर्को जलविद्युत् आयोजना हो ।

दोलखाको सुरी दोभानमा विद्युत्गृह रहने आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयारी भैसकेको छ । क्यासकेड आयोजनाको रुपमा लिईएको यो आयोजनाका लागि वित्तिय व्यवस्थापनको अन्तिम पहल भइरहेको नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुले जनाएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तामाकोसी–५ जलविद्युत् कम्पनीमार्फत नयाँ आर्थिक वर्षबाट काम थाल्नेगरी पहल अघि बढेको जानकारी दिए । यो आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा राखिएको छ । “लगानीकर्तासँग छिट्टै समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भैरहेको छ । त्यसलगत्तै ठेक्का प्रक्रिया सुरु गर्न पाए र सरकारले पर्याप्त बजेट विनियोजन गरे आर्थिक वर्ष २०७८/७९ भित्र निर्माण थाल्नेछौं” उनले भने ।

४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत्गृहबाट निस्किएको पानी आठ किलोमिटर लामो सुरुङबाट अर्को विद्युतगृहमा पुर्याएर विद्युत् उत्पादन गर्ने योजना छ । माथिल्लो तामाकोशीको टेलरेसबाट निस्केको पानीलाई ५.४ मिटर ब्यासको आठ किलोमिटर सुरुङबाट तामाकोसी–५ को भूमिगत विद्युत गृहमा पुर्याइनेछ ।

३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी जुटाएर आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य छ । ऋणका लागि स्वदेशी लगानीकर्ता कर्मचारी सञ्चय कोष र विदेशी लगानीकर्ता एसियाली पूर्वाधार लगानी बैङ्क (एआईआईबी) ले लगानी गर्न चासो दिएका छन् । हेड वक्र्सको काम नहुने भएकाले कम लगानीमा आयोजना बन्ने आँकलन छ ।

कर्मचारी आवास, कार्यालयलगायतका पूर्वाधार बनाउन थालिसकिएको छ । जर्मन कम्पनी ट्र्याक्वेल इन्जिनियरिङले यो आयोजनाका लागि छुट्टै बाँध बनाउन नपर्ने विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ ।

कस्तो आयोजना हो ?

तामाकोसी–५ आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत गृहमा बिजुली निकालेर निस्किएको पानीलाई उपयोग गर्ने गरी निर्माण गरिँदैछ । टेलरेस टनेलबाट निस्केको पानीलाई सुरुङमार्फत सुरीदोभानमा पुर्‍याएर बिजुली निकालिनेछ ।

त्यहाँ अर्को भूमिगत विद्युत गृह बनाएर आयोजनाबाट सय मेगावाट बिजुली निकाल्ने योजना छ । तामाकोसी ५ मा पानी लैजाने गरी व्यवस्थापन गर्न माथिल्लो तामाकोसी निर्माणकै क्रममा आधारभूत संरचनाहरु तयार गरिएको छ । सिभिलतर्फको ठेकदार कम्पनीले टेलरेस टनेललाई अर्को टनेलमा डाइभर्ट गर्न सकिने गरी गरी भूमिगत इन्टेकसहितको संरचना बनाएको हो ।

यो आयोजना माथिल्लो तामाकोसीको क्यासकेड प्रोजेक्ट भएकाले हेडवक्र्सको काम गर्नुपर्ने अवस्था छैन । माथिल्लो तामाकोसीको टलरेसबाट ८ दशमलव २ किलोमिटर लामो सुरुङ निर्माण गरेर विद्युत गृहमा खसालेर यो आयोजना निर्माण हुनेछ । ५ दशमलव ६ मिटर व्यास भएको सुरुङमा जाने पानीलाई १ सय ६० मिटर हेडबाट खसालिनेछ ।

यो आयोजनाका लागि २५र२५ मेगावाटको ४ वटा युनिटको प्रस्ताव गरिएको छ । ल्हामेर कम्पनीले यसको डीपीआर तयार गरेको हो । विद्युत उत्पादनका हिसावले यो आयोजना अन्य आयोजनाभन्दा निकै सस्तो हो । करिब १६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनाको प्रतिमेगावाट लगानी १५ करोड मात्रै छ ।

सामान्यतया एक मेगावाटको परियोजना बन्न अहिले धेरै सस्तोमा पनि २० करोड खर्च हुन्छ । यस हिसाबले यसको प्रति युनिट विजुली उत्पादन पनि सस्तो छ ।
यो आयोजनाका प्रभावित क्षत्रेमा माथिल्लो तामाकोसीकै प्रभावित क्षेत्र हो । यसै कारण पनि यसको व्यवस्थापन जटिल छैन ।

माथिल्लो तामाकोसी आयोजनाको विद्युत गहृ प्रस्ताव गरिएको स्थान सडकसँगै पर्ने भएकाले यसका लागि पहुँचमार्गको पनि जरुरत छैन । यस्तै माथिल्लो तामाकोसीकै क्याम्प साइट पनि यसको निर्माण्का लागि उपयोग गर्न सकिने अवस्था छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update