काठमाडौं - बललिँदो राजनीतिक घट्नाक्रमसँगै नेकपा (माओवादी केन्द्र) ले संघ र प्रदेशमा गरी १३ सांसद गुमाएको छ । जसमा संघीय सांसद पाँच र प्रदेश सांसद आठ जना रहेका छन् । नेकपा एमालेमा प्रवेश गरेपछि संघमा माओवादीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित रामबहादुर थापा‘बादल’ तथा प्रतिनिधि सभातर्फ सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको पद गुमेको छ ।
तत्कालीन नेकपाले सर्वोच्च अदालतबाट वैधता नपाएर एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी छाडेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमालेमा लागेका उनीहरुको सांसद पद गुमेको हो ।
थापा ओली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री छन्। त्यसैगरी रायमाझी ऊर्जा, भट्ट उद्योग, साह सहरी विकास र चौधरी श्रम मन्त्री छन्। सांसद पदसँगै मन्त्री पद पनि गुमेपछि उनीहरु मन्त्रीमा पुनःनियुक्त भइसकेका छन्। । थापासहित पाँच जनालाई माओवादीले कारबाही गरेपछि सांसद पद रिक्त छ । प्रदेश सभाका आठ सांसदलाई माओवादीले कारबाही गरेकाले ती सांसद पद पनि रिक्त छन्।
प्रदेश १ बाट टंक आङबुहाङ माओवादी छाडेर एमालेमा लागेका छन्। प्रदेश २ बाट रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरले पनि माओवादी केन्द्र छाडेका छन्। लुम्बिनी प्रदेशबाट दिनेश पन्थी र दधिराम न्यौपाने, कर्णाली प्रदेशबाट धर्मराज रेग्मी एमालेमा गएका छन्। । रिक्त स्थानमा उप निर्वाचन गर्न सरकारले दलहरुलाई प्रस्ताव गरेको छ ।