जनकपुर - नेकपा एमालेतिर लागेका २ नम्बर प्रदेशका चार जना सांसदलाई नेकपा (माओवादी केन्द्र) ले कारबाही गरेको छ । माओवादीबाट निर्वाचित चारै जना प्रदेश सांसदले एमालेमै रहने अडान लिएपछि उनीहरुलाई बर्खास्त गरिएको हो ।
माओवादी केन्द्रले प्रदेश २ का सांसद रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समिरलाई सांसदबाट बर्खास्त गरिएको पत्र प्रदेशसभा सचिवालयमा बुझाएको छ ।
माओवादी केन्द्रका सचेतक दिलीप साहले केन्द्रीय समितिले सोधेको २४ घण्टे स्पष्टिकरणको जवाफ नदिएपछि चारैजना सांसदलाई बर्खास्त गरिएको पत्र सभामुख सरोज यादवलाई बुझाएको जानकारी दिए ।
प्रदेशसभा सचिवालयका अनुसार उनीहरुलाई कारबाही गरिएको पत्र प्राप्त भएको र कानुनी परामर्श भइरहेको जनाएको छ । प्रदेश २ मा माओवादीकेन्द्रका ११ जना सांसद रहेकोा ओलीतिर लागेका कारण ४ जना बर्खास्त गरिएपछि अब ७ जना सांसद मात्रै हुने भएका छन् ।