Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
संसद पुर्नस्थापनाको दुई महिना : किन बन्न सकेन नयाँ सत्ता समिकरण ?

काठमाडौँ - नयाँ सत्ता समिकरण बनाउने निरन्तरको प्रयास सफल हुन सकेको छैन । माओवादी केन्द्र केपी शर्मा ओलीको विकल्पमा नयाँ सत्ता समिकरण गर्न आँतुर देखिएपनि कांग्रेसको अरुची र जसपाभित्रको बिवादका कारण सफल हुन नसकेको हो ।

भावी सत्ता समीकरणमा निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु छलफलमा जुटे पनि उनीहरूबीच विवाद कायमै छ । भावी समीकरणलाई लिएर शीर्ष नेताका दुईथरी मत देखिएको छ । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गरेर जानुपर्ने पक्षमा छन् । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव भने ‘प्रतिगमनका मतियार बनेका ओलीसँग सहकार्य गर्न नसकिने’ अडानमा छन् ।

तीन दलीय बैठकमा आन्तरिक छलफल गरेर निर्णय दिने बताएको जसपाले तत्कालका लागि नयाँ सत्ता समिकरणबारे निर्णय गर्ने सम्भावना कम छ । भावी गठबन्धन ओलीसँगै वा ओलीविरोधी दलहरुसँग भन्नेमा जसपाका नेताको मत विभाजित भएपछि तत्काल नयाँ सरकार बन्ने सम्भावना टर्दै गएको छ ।

कांग्रेसले चैत २० मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने अग्रसरता लिने निर्णय गरेपनि सभापति देउवाले सरकारको नेतृत्व गर्ने तत्परता देखाएका छैनन् । उनले पार्टी कार्यक्रमहरुमा नयाँ सरकार भन्दापनि चुनावको तयारीमा केन्द्रीत हुन निर्देशन दिँदै आएका छन् । नयाँ समिकरणका लागि निर्णायक मानिएको जसपाका संसद्‌मा ३२ सांसद छन् । संसद् पुनस् स्थापना भएको दुई महिना पुग्न लाग्दा पनि जसपाले भावी गठबन्धनबारे मूर्त निर्णय लिएको छैन ।

जसपाको बैठकमा अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीसँग भएको वार्ता सकारात्मक रहेको र उनले आफूहरुका माग सम्बोधनका लागि प्रक्रियासमेत थालेको बिफ्रिङ गरेको स्रोतले बतायो । उनले बैठकमा अहिले हतारमा केही निर्णय लिन आवश्यक नभएको र केही समय पर्खनुपर्नेमा जोड दिएका थिए ।

वरिष्ठ नेता महतोले पनि माग पूरा हुने दिशातिर गएका बेला त्यसलाई प्रभावित पार्ने खालका अन्य निर्णय लिन नहुने मत राखेका थिए । महतोले सरकारको विषय संसद्‌मा प्रवेश गरेपछि मात्रै जसपाले निर्णय लिनुपर्ने धारणा राखेको एक नेताले जानकारी दिए ।

तर, बैठकमा भट्टराई र यादव भने तत्काल नयाँ सत्ता समीकरणको लागि पार्टीले निर्णय लिन ढिला गर्न नहुनेमा जोड दिएका थिए । सत्ता गठबन्धन गर्न जसपाले रेशम चौधरीको रिहाई, रेशम चौधरी लगायत मधेस थरुहट आन्दोलनका बन्दीको मुद्धा फिर्ता र रिहाईलाई मुख्य सर्त बनाएको छ ।

यही मुद्दा लिएर जसपाका अध्यक्ष ठाकुर र नेता महतोले प्रधानमन्त्री ओलीसँग पटक पटक संवाद गरेको छन् । यस्तै पूर्वन्यायाधीश गिरीशचन्द्र लाल आयोगको मधेस आन्दोलनबारेको प्रतिवेदन सार्वजनिक र संविधान संशोधन गर्नुपर्ने जसपाको माग छ ।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update