चरिकोट–नेकपा एमाले माधव पक्षका नेताहरुले आफुहरु नेकपा एमाले एकताबद्ध बनाउने अभियानमा रहेको बताएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्षको कार्यशैली र प्रबृत्तीका कारण पार्टी संकटमा रहेको आरोप लगाउँदै उनीहरुले आफुहरु पार्टी एकता बचाउने पक्षमा रहेको बताए ।
दोलखा सदरमुकाम चरिकोटमा आफु पक्षिय युवा र विद्यार्थी भेलालाई सम्बोधन गर्दै कार्यक्रमलाई सम्बोधन गर्दै नेता सुरेन्द्र पाण्डे, पशुपति चौलागाई, रचना खड्का लगायतको नेताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा मन्तव्य राख्दै नेता पशुपति चौँलागाईले आफुहरु पछि हटेर भएपनि पार्टी बचाउन तयार रहेको तर अध्यक्ष ओली विभाजनतर्फ उद्धत रहेको बताए ।
अदालतको फैसलापछि पुर्बवत अवस्थामा फर्किएको पार्टीमा अध्यक्ष ओलीले मनोमानी ढंगले विधान शंसोधन र नयाँ मान्छे भर्ती गरेको भन्दै उनले अहिलेपनि एमालेलाई एकताबद्ध बनाउने प्रयासमा आफुहरु रहेको बताए । त्यही सन्देश दिने उदेश्यले देशभर छुट्टै भेला कार्यक्रम गर्नुपरेको उनको भनाई छ ।
“कतै बिग्रेको छ भने अझैपनि आलोचना÷आत्माआलोचना गर्न तयार छौं, तर अध्यक्षले धमाधम नेताहरुलाई कारबाही गर्दै जाँदा अन्तरबिरोध बढेको हो, उनले अगाडी भने आजको लडाई कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने की विभाजन गर्ने भन्ने बीचको हो ।”
त्यसमा सचेत र सजग गराउन पनि कमिटी प्रणालीमा पनि केही तलमाथि गर्नुपरेको नेता चौलागाईले उल्लेख गरे ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ रचना खड्काले एमालेलाई एकढिक्का बनाउने प्रयासमा रहेको भन्दै त्यसका लागि पहल गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेकी छन् । पार्टीलाई कमजोर बनाउन छुट्टै भेला नगरिएको स्पष्ट पार्दै खड्काले पार्टी एकताको लागि मनोमानी ढंगले गरिएको निर्णय सच्चिनुपर्ने बताईन् ।
“सँगैका नेताहरुलाई पाखा लगाएर एमालेलाई एकढिक्का राख्न सकिँदैन, उनले भनिन्, एमालेलाई चकनाचुर पार्ने कतै कसम खानुभएको छैन भने अझै एकताको पहल गर्नुस् ।”
कार्यक्रममा मन्तव्य राख्ने एमाले दोलखाका पुर्व सचिव एवं केन्द्रिय अनुशासन आयोगका सदस्य शिव प्रसाद भण्डारी, सुदेश पराजुली लगायतका नेताहरुले पनि पार्टी एकतामा जोड दिँदै त्यसका लागि अध्यक्ष केपी शर्मा ओली सच्चिनुपर्ने आवश्यकता औल्याए । कार्यक्रमअघि युवा विद्यार्थीहरुको र्यालीले चरिकोट बजार परिक्रमा गरेको थियो ।