Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एमसीसीबारे नेकपा कार्यदलले तयार पार्यो प्रतिवेदन

९ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बनाएको कार्यदलले प्रतिवेदन तयार गरेको छ ।

कार्यदल तयार गरेको सुझावसहितको प्रतिवेदन पार्टी अध्यक्षद्वयलाई बुझाउँदैछ । कार्यदलका सदस्य भिम रावलका अनुसार सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन गरिएको छ ।
‘गहन विश्लेषण र विस्तृत अध्ययन पश्चात प्रतिवेदनको मस्यौदा तयार भएको छ’ रावलले भनेका छन्, ‘तयार प्रतिवेदनको मस्यौदालाई अध्यक्षद्धयलाई बुझाउँछौँ । त्यसपछि यसका सम्बन्धमा निर्णय गर्नुपर्ने, कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा पार्टी नेतृत्वले छलफल गरेपछि जानकारी होला ।’

प्रतिवेदन नबुझाई के के कुरा समेटिएको छ भनेर भन्न नमिल्ने कार्यदलले बताएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र एमसीसीका विषयमा विवाद बढ्दै गएपछि केन्द्रीय समिति बैठकले अध्ययन गर्न कार्यदल गठन गरेको थियो । वरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको कार्यदलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य रावल सदस्य छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update