Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
यसरी अघि बढ्दैछ, स्मार्ट दोलखा बनाउने अभियान

चरिकोट – नेपाल टेलिकम दोलखा शाखा, जिल्लालाई स्मार्ट जिल्ला बनाउने सरकारको घोषणालाई पुरा गर्ने तयारीमा जुटेको छ । त्यसका लागि जिल्लाका ९ वटै स्थानीय तह, शैक्षिक संस्थामा द्रुत गतिको ईन्टरनेट सेवाको पहुँच विस्तार गर्ने काम धमाधम भैरहेको छ ।

जिल्लाको ९ स्थानीय तह, ७४ वडा कार्यालय, ५७ स्वास्थ्य संस्था र १ सय ३६ सामुदायिक विद्यालयहरुमा द्रुतगतिको ईन्टरनेटको सेवा उपलव्ध गराई डिजिटल सेवा सञ्चालन गर्ने लक्ष्य छ ।

नेपाल टेलिकम दोलखा शाखाका प्रमुख राजु गिरीले द्रुत गतिको ईन्टरनेट सेवा विस्तारपछि सूचना प्रविधिको माध्यमबाट पेपरलेस र फेसलेस सेवा प्रदान गर्न पुर्वाधार निर्माणको कामलाई तिब्रता दिईएको जानकारी दिए । त्यसका लागि केन्द्र र जिल्लाको संयुक्त टोली सिस्टम अपग्रेड र मेन्टिनेन्सको काममा सक्रिय रहेकोे उनले बताए ।

उनका अनुसार डिजिटन नेपाल फ्रेमवर्क अन्तर्गत द्रुतगतिको ईन्टरनेट सेवा विस्तारका लागि हाल नयाँ उपकरण जडान गर्ने काम धमाधम भैरहेको छ ।

जसअन्तर्गत जिल्लाका ७ स्थानमा फोरजी वायरलेस सहितको ईन्टरनेट जडान कार्य सम्पन्न भैसकेको छ । भीमेश्वरको माटी, जिरीको पुम्पा, तामाकोशीको हाँवा, मेलुङको पवटी, वैतेश्वरको गैरीमुदी, गौरीशंकरको सुरी, विगुको गुम्वामा ईन्टरनेट सेवा जडान गरिएको टेलिकमले जनाएको छ । यस्तै शैलुङको कल्लाबारी र कालिञ्चोकको लापिलाङमा ईन्टरनेट सेवा जडान गरिँदैछ ।

टेलिकमले पहिलो चरणमा भीमेश्वर नगरपालिका, त्यस आसपासको क्षेत्र, तिखातल, आईसल्याण्ड कलेज आसपासको क्षेत्र, सिमपानी नजिकै नेपाल टेलिकमको टावर आसपासको क्षेत्र तथा चरिकोट कारागार आसपासको क्षेत्रमा एमटिटिएच प्रविधि विस्तार गरिसकेको छ ।

गत फागुन १ गते सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङले दोलखा जिल्लालाई स्मार्ट जिल्ला बनाउने घोषणा गर्दै यो अभियान पुरा गर्न निर्देशन दिएका थिए ।

सर्वेको कामपनि धमाधम
जिरी नगरपालिकाको जिरी र मानेडाँडा बजार तथा वैतेश्वरको मैनापोखरी बजारमा हाई स्पिडको ईन्टरनेट सेवा सहितको नयाँ प्रविधि एफटिटिएच विस्तारका लागि सर्वेको काम भैरहेको छ । उक्त सेवा अप्टिकल फाईबर भएको स्थानमा मात्रै जडान गर्न मिल्छ ।

यसैगरी स्थानीय तहका विभिन्न स्थानमा एफटिटिएच विस्तारका लागि सर्वेको काम पुरा भएको र मोवाईल टावर सर्वेको काम भैरहेको टेलिकमले जनाएको छ । जिरीको ठूलोपातलस्थित ढिकिडाँडा, तामाकोशीको हाँवा र भीरकोट, कालिञ्चोकको लापिलाङ, वैतेश्वरको मैनापोखरी, शैलुङको काटाकुटी र मागापौवा तथा विगु गाउँपालिका ७ मा मोवाईल टावरहरुको सर्वेको काम भैसकेको टेलिकमले जनाएको छ ।

यस्तै जिल्लाका आवश्यक स्थानहरुको पहिचान गरी मोवाईल टावरहरु पनि थप्ने गृहकार्य भैरहेको छ । हाल जिल्लामा २३ वटा मोवाईल टावरहरुमार्फत सेवा प्रदान गरिँदै आएको छ ।

यसकारण आईरहेको छ समस्या
पछिल्लो समय जिल्लाको ईन्टरनेट र टेलिफोन सेवामा समस्या देखिएको उपभोक्ताको गुनासो छ । टेलिकमका अधिकारीहरु सेवालाई अपग्रेड गर्दा, एउटा सिस्टम अर्को सिस्टममा जाँदा र मेन्टिनेन्स गर्ने क्रममा यस्तो समस्या देखिनु स्वाभाविक ठान्छन् । अप्टिकल फाईवर विस्तार, नयाँ उपकरण जडान, पुराना उपकरणको चेकजाँच गर्ने क्रममा सेवामा समस्या देखिएको उनीहरुको दावी छ ।

लापरबाहीका कारण भन्दापनि सेवा विस्तारका क्रममा देखिने समस्यालाई अन्यथा नलिन टेलिकम शाखा प्रमुख गिरीले उपभोक्तालाई आग्रह गरे । सिन्धुली बर्दिवासको लिंगपनि मर्मत भैरहेकाले अव २० मिनेट भन्दा बढी समय सिस्टम नजानेगरी सेवामा सुधार भएको गिरीको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update