सिन्धुपाल्चोक - चीनसँगको सिमानाका तातोपानीबाट पहिलो पटक नेपालमा ठुलो परिमाणमा रासायनिक मल आयात भएको छ । तातोपानी नाकाबाट ८० हजार बोरा अर्थात ४ हजार टन रासायनिक मल भित्रिएको हो ।
यस नाकाबाट यस अघि खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक तथा अन्य सामाग्री आयात हुनेगरेको थियो । साल्ट ट्रेडिङको लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले रासायनिक मल भित्र्याएको अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट कन्टेनरमार्फत मल ल्याइएको हो । पहिलो पटक सो नाकाबाट रासायनिक मल नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए ।
अहिलेसम्म २ सय ८० टन युरिया मल आइसकेको र १ महिनाभित्र सबै मल आइसक्ने प्रमुख खत्रीले बताए । कम्पनीले प्रति मेट्रिकटन करिब २० करोड नेपाली रुपैयाँमा मल ल्याएको छ । शुरुमा परीक्षणका लागि सानो परिमाणमा ४ हजार टन मल नेपाल ल्याइएको हो ।
कृषि मन्त्रालयका सहसचिव काञ्चनराज पाण्डेले उत्तरी नाकाबाट मल ल्याउँदा कृषकहरुलाई मूल्यमा प्रतिकेजी २ देखि ३ रुपैयाँ सस्तो पर्ने जानकारी दिए । तातोपानी नाकाबाट भित्रिएको मल सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछाप लगायत पहाडी जिल्लाका किसानले छिटै प्रयोग गर्न पाउने छन् ।