काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिईनसकेको जनाएको छ । मन्त्रीहरूलाई फिर्ता बोलाए पनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहेको नेताहरुले बताएका छन् ।
माओवादी केन्द्रको शनिबार बसेको स्थायी कमिटी बैठकले पार्टीबाट मन्त्री भएकाहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र पठाउने निर्णय गरेको थियो । माओवादी केन्द्रका मुख्य सचेतक देवप्रसाद गुरुङले सरकारलाई दिएको समर्थन यथावत रहेको बताए ।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलका अनुसार अन्य राजनीतिक दलहरूसँग जारी रहेको बार्ता निष्कर्ष नपुगेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नहुने स्पष्ट पारे ।
केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा गृहमन्त्री, टोपबहादुर रायमाझी ऊर्जामन्त्री, लेखराज भट्ट उद्योग तथा आपूर्तिमन्त्री, प्रभु साह सहरी विकासमन्त्री, मणि थापा खानेपानीमन्त्री, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्री छन् ।