Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दर्जनौं सन्तानकी ‘अविवाहित आमा’

चरिकोट – विवाहित भएर सन्तान जन्माउनेहरुलाई मात्रै हाम्रो समाजले आमाको रुपमा स्वीकार गर्छ । कानुनी परिभाषा पनि त्यस्तै छ । आफ्नै गर्भबाट शिशु जन्माउनेलाई मात्र कानुनले आमाको रुपमा चिन्छ । त्यसो त विवाह गरेर सन्तान जन्माएपछिपनि असल आमाको भुमिका निर्वाह गर्न नसकेका उदाहरणहरु पनि प्रशस्त छँदैछन् ।

तर विवाह नगरी असल आमा बनेका उदाहरणपनि हाम्रो समाजमा पाईन्छन् । दोलखा तामाकोशी गाउँपालिका झुलेकी सिर्जना कार्कीले त्यस्तै आमाको रुपमा परिचय बनाएकी छिन् । उनी दुई/तीन जना मात्रै होईन दर्जनौं सन्तानकी आमाको रुपमा स्थापित छिन् । सदरमुकाम चरिकोटमा सिर्जनाले वर्षौदेखि त्यस्ता संकट र जोखिममा परेका वालवालिकाको संरक्षणमा आफ्नो जीवन समर्पण गर्दै आएकी छन् ।

सिर्जनाले समाजमा विशेषगरी अबैध गर्भधानबाट जन्मिएका र अन्य कारणबाट धेरै नवजात शिशुहरुको जीवन जोखिममा परेको र अकालमा मृत्युवरण गर्नुपरेको दृष्य देखिन् । ती हृदयविदारक घट्नाहरुको दृष्यले सिर्जनालाई मुकदर्शक बन्न दिएन । “त्यस्ता घट्नाहरु देखेर धेरै पटक रोएको छु, उनी भन्छिन्, उनीहरुको जीवन संरक्षणका लागि केही गर्नुपर्छ भन्ने मनमा अठोट जाग्यो, त्यसपछि निरन्तर यही फिल्डमा लागिरहेकी छु ।”

उनले जीवननै जोखिममा परेका नवजात शिशुदेखि पिडित महिलाहरुको उद्धार, न्याय र संरक्षणका लागि सुरुमा गलाको सिक्री बेचिन्, साथीहरुबाट ऋण मागेर काम चलाईन् । २०६९ सालमा भने उनले आवाज नेपाल नामक संस्था नै खोलेर कामलाई व्यवस्थित र योजनाबद्ध ढंगले अघि बढाउन थालिन् ।

उनी भन्छिन्, “सुरुमा काम गर्दा धेरै समस्या भोग्नुपर्यो, सहयोगको सट्टा वच्चा नपाएको मान्छेले कसरी बच्चालाई माया ममता दिनसक्छ भन्ने प्रश्न र आलोचनाहरु पनि सहनुपर्यो, तर म आफ्नो उदेश्य पुरा गर्न अविचलित रुपमा अघि बढेँ ।”

दर्जनौं वालवालिकालाई संरक्षण दिईसकेको आवाज नेपालले हाल १० जना वालवालिकाहरुलाई संरक्षण दिईरहेको छ । सिर्जनाको सबै समय उनीहरुको रेखदेख र स्याहारमा बित्छ । उनीहरुलाई गाँस, वास, कपासको व्यवस्थापन देखि शिक्षादिक्षा, स्वास्थ्यपोचार, तालिम आदिको व्यवस्था गरिएको छ । “आफ्नै आमाले कुटेको र अरुले माया गरेको केही फरक त पर्लानै तर आफ्नै आमाले भन्दा बढी मायाममता र मातृत्व दिने प्रयास गरेको छु, सिर्जनाले भनिन् ।”

यसरी उनी अविवाहित हुँदाहुँदै दर्जनौ सन्तानकी आमा बनेकी छिन् । सायद यही समाजसेवामा लाग्दालाग्दै उनले आफ्नो वैवाहिक जीवनतिर ध्यान दिन पाईनन् । हालसम्म सिर्जनाको अगुवाईमा आवाज नेपालले ३६७ जोखिम, संकटापन्न अवस्थामा रहेका वालवालिका तथा महिलाहरुले उद्धारसँगै संरक्षण पाएका छन् । जसका कारण सिर्जना दक्षिण एसियाकै प्रतिष्ठित मानिएको एन्पिस अवार्ड र राष्ट्रिय आदर्श आमा पुरस्कारबाट सम्मानित भैसकेकी छिन् । “आफुलाई यस्तो काम गर्न पाउँदा गर्व र आनन्दको महसुस हुन्छ, बाँकी जीवनपनि यही काममा समर्पित गर्ने सोचेकी छु, उनले सुनाईन् ।”

टुडिखेल नजिकैको जग्गा भाडामा लिई अस्थाई संरचना बनाएर पिडित वालवालिका र महिलाहरुको संरक्षण र व्यवस्थापन गरिँदै आएको छ । उक्त कार्य अझै चन्दा र सहयोगकै भरमा चलाउनु परेको छ । राज्यले बजेटको व्यवस्था गरेको छैन । स्रोतको कमीका कारण व्यवस्थापनमा समस्या रहेको सिर्जनाले गुनासो गरिन् । संस्थाले निशुल्क जग्गा दान प्राप्त गरेकाले आगामी बर्षबाट भवन बनाएर सर्ने योजना बनाएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update