काठमाण्डौं - उपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राजनीतिक अवस्था र संसदमा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् ।
प्रतिनिधिसभामा दलहरूबीच समन्वय भई प्रक्रिया सामान्य ढंगले अगाडि नबढे ताजा जनादेशमै जानुपर्छ,ु बिहीबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
उपप्रधानमन्त्री पोखरेलले निर्वाचनका लागि तयार हुन आम मतदातासमक्ष आग्रह पनि गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता पोखरेलले सर्वोच्च आदालतको फैसलाबाट उत्पन्न भएको वर्तमान राजनीतिक अवस्थाको सामना गर्दै एमाले र माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्ममा नयाँ ढंगले पुनःएकता हुने बताए ।
उनले दलको नामबारे अदालतले दिएको फैसलाले दुवै पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा पुर्याए पनि दुवै पार्टीबीचको एकता र दुवै पार्टीका नेता कार्यकर्तालाई सम्मानजनक ढंगले व्यवस्थापन गर्ने सोचका साथ नेकपा एमाले अगाडि बढेको जानकारी दिए ।
पोखरेलले बारा र पर्सामा सडक निर्माण तथा पूर्वाधार विकासका काममा देखिएको बेथितिको चाँडै अन्त्य हुने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले ठेक्का सरकार गर्ने र लामो समयसम्म काम नगरी सर्वसाधारणलाई दुःख दिने प्रवृत्तिको अन्त्यका लागि प्रधानमन्त्री ओलीसँग भेटी आग्रह गर्ने जानकारी दिए । (रासस)