Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
चीनसँग नाका जोड्ने लामाबगर सुरुङमार्ग निर्माण कार्य अघि बढ्दै

चरिकोट - उत्तर दक्षिण कोरिडर अन्तरगत दोलखाको लामाबगरमा बन्ने सुरुङमार्गको कामले गति लिने भएको छ । सरकारको केन्द्रिय बजेटमा चालु आर्थिक वर्षमा पहिलो पटक सडक सम्वोधन गरिएको उक्त सुरुङमार्गको विस्तृत अध्ययनपछि डिजाइन तयार पारिएको छ ।

सडक विभागका अधिकारीहरुका अनुसार सो सुरुमार्ग निर्माणका लागि बहुवर्षीय ठेक्का गर्न अर्थमन्त्रालयसँग बजेट स्वीकृतिका लागि सहमतिको प्रक्रिया अघि बढेको छ ।

विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक विजय जैसीले सुरुङमार्ग निर्माणका लागि बहुवर्षीय ठेक्का गर्न अर्थमन्त्रालयमा सहमतिको काम अन्तिम चरणमा रहेको जानकारी दिए । यो सुरुङमार्ग निर्माण भएमा दोलखाको लामावगरदेखि चीनसँगको सिमाना लप्चीसम्म सडकको पहुँच पुग्नेछ ।

गृहजिल्ला दोलखा भएका सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङले चालु आर्थिक वर्षभित्रै काम अघि बढ्नेगरी उक्त योजनालाई उच्च प्राथमिकतामा राखेर पहल गरिरहेको उनको सचिवालयले जनाएको छ ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ‘हेडवक्र्स’भन्दा माथिको भागमा करिब एक किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ । यो सुरुङ निर्माणपछि थप करिब ९ किलोमिटर सडक निर्माणपछि चीनसँग नाका जोडिनेछ । तामाकोसी आयोजनालाई असर नपर्ने गरी सुरुङमार्गको डिजाईन तयार पारिएको विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update