Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
आगामी आर्थिक वर्षको बजेट तयारीमा जुट्यो अर्थ मन्त्रालय

काठमाडौं - अर्थमन्त्रालय आर्थिक बर्ष २०७८/७९ को बजेट निर्माणको तयारीमा जुटेको छ । मन्त्रालय स्रोतका अनुसार बजेटका लागि राष्ट्रिय योजना आयोगले ‍चालु आर्थिक वर्षको भन्दा १० प्रतिशतले बढाएर करिब १८ खर्ब रूपैयाँको बजेटको सिलिङ पठाएको छ ।

१४ खर्ब ७४ अर्ब रूपैयाँको १० प्रतिशतले बजेटको आकार बढ्ने हो भने पनि करिब १६ खर्ब २० अर्ब रूपैयाँको बजेट बन्ने सम्भावना छ । आब २०७६/७७ मा १६ खर्ब ६६ अर्ब रूपैयाँको सिलिङ आयोगले दिएकोमा सरकारले प्रस्तुत गरेको १५ खर्ब ३२ अर्ब रूपैयाँको थियो । यसपाली पनि सरकारले आयोगको सिलिङभन्दा केही सानो आकारको बजेट ल्याउने अर्थमन्त्रालयका अधिकारीहरूको भनाई छ ।

उनीहरुका अनुसार नेपालको वर्तमान अर्थतन्त्रको अवस्था, कुल गार्हस्थ्य उत्पादन, राजस्व संकलन, बैदेशिक ऋण तथा अनुदानमा आउने प्रतिबद्धता सबैलाई हेरेर करिब ५ देखि १० प्रतिशतले ठूलो आउन सक्नेछ ।

योजना आयोगले पठाएको बजेटको सिलिङका आधारमा प्रत्येक बिषयगत मन्त्रालयलाई सम्भावित बजेट खर्चको माग र मन्त्रालयहरुले आफ्ना विभाग तथा कार्यालयहरूसँग बजेट प्रस्ताव गर्ने काम अगाडि बढेको मन्त्रालय स्रोतले जनाएको छ ।

यसका लागि अर्थमन्त्रालयको एकीकृत वित्तीय व्यवस्थापन प्रणाली अन्तर्गतको ‘एलएमबीआइएस’ मा समावेश गरेर बजेट प्रस्ताव गर्न अर्थमन्त्रालयले आग्रह गर्न थालिसकेको छ । जेठ १५ गते संसदका दुबै सदनमा बजेट प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update