काठमाडौं - सरकारले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका नेता, कार्यकर्तामाथि पक्राउ नगर्ने प्रहरीलाई निर्देशन दिएको छ । उक्त समुहसँग वार्ता सुरु भएपछि गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
विप्लव समूहसँग वार्ता गर्ने तयारीसँगै सरकारले प्रहरी नेतृत्वलाई नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको स्रोतले बतायो । सरकारले विप्लव समुहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो । त्यसपछि प्रहरीले विप्लव समूहका नेता कार्यकर्तालाई जहाँ भेट्यो, त्यही पक्राउ गर्ने नीति अख्तियार गर्दै आएको थियो ।
समूहसँग बुधबार एकैदिन दुई पटक प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी पक्षको दाबी छ । तर, विप्लव समूहले भने हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन ।