काठमाडौं स् नेपाली बजारमा सुनको मूल्यले हरेक दिन कीर्तिमानी अंक भेट्टाउन थालेको छ। शुक्रबार एकैदिन पाँच सयले बढेर छापावाल सुनको मूल्य प्रतितोला ७८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार बजारमा तोलाको ७७ हजार १ सयमा कारोबार भएको सुन बिहीबार र शुक्रबार ५ र ५ सयले बृद्धि भएको हो।
महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजावी सुन प्रतितोला ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य प्रतितोला ९ सय १५ रुपैयाँमा स्थिर रहेको छ।
पछिल्लो समय सुनलाई समृद्धि र सम्पन्नताको प्रतीक मान्ने प्रबृत्ति बढ्दै गएकाले पनि पहेँलो धातु महँगिँदाको मार ग्राहकमा बझ बढी पर्न थालेको सुनचाँदी व्यवसायी बताउँछन्।व्यवसायीले भने सुनको भाउ उकालो लागेपछि व्यापार ठप्पप्रायः भएको बताए। सुन अझै महँगिने सम्भावना रहेको अन्तर्राष्ट्रिय विश्लेषकले अनुमान गरेका छन्।
पछिल्लो समय सूचना प्रविधिसम्बन्धी संसारकै सबैभन्दा ठूलो कम्पनी एपल इन्कले आगामी दिनमा आफ्नो नाफा घट्नसक्ने जोखिम औंल्याएपछि सुनको भाउ झनै चर्किएको छ। चीनमा फैलिएको कोरोना भाइरसले विश्वव्यापी उत्पादन र उपभोग दुवै खुम्चिएको छ। विकसित अर्थतन्त्रका कैयौं कारखाना बन्द भएका छन्।
पृथ्वीभर नै औद्योगिक कच्चा पदार्थको सबैभन्दा ठूलो आपूर्तिकर्ता चीनमा संकट परेपछि सबैजसो ठूला कम्पनीको नाफा घट्ने प्रक्षपण भएको छ। यसले सुरक्षित लगानीको साधन मानिने सुनमा धनिमानीले लगानी बढाउन थालेका छन्।
महँगी बढेसँगै मानिसले टिकाउयुक्त समानको खरिद बढाएका कारण घर परिवारको बचत पनि घट्न थालेको बताइएको छ। यस्ता खराब तथ्यांकले सुनमात्र होइन, अमेरिकी डलरको भाउ पनि महँगिन सहयोग पुग्छ। यसको दोहोरो असर सुनको मूल्यमा पर्ने गरेको छ। सुन महँगिँदा नेपाली सुनचाँदी व्यवसायीले विदेश निर्यात गर्ने गरगहनाबाट नाफा पाउन सक्छन्। तर अहिले गरगहनाभन्दा पनि लगानीका लागि सुनको माग बढेकाले यस्तो लाभ कमैमात्र भएको व्यवसायीले बताए।