Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
यस्तो छ, मंगल ग्रह (ताजा तस्विरहरु)

एजेन्सी - रातो ग्रह उपनामले चिनिने मंगल ग्रहमा वैज्ञानिकहरुले अनुसन्धान कार्य जारी राखेका छन् । सात महिना लामो यात्रापछि अमेरिकी अन्तरिक्ष संस्था नासाले पठाएको पर्सिभिरेन्स अन्तरिक्ष यानले मंगलग्रहमा कुनै बेला जीवन थियो की भन्ने विषयमा अनुसन्धान केन्द्रित गरेको छ ।

मंगल ग्रहको सतहमा गत फेब्रुअरी १८ मा ल्यान्ड भएको पर्सिभिरेन्सको ६ पांग्रे रोभरले त्यहाँ खिचेका तस्बिरहरू नासालाई पठाइरहेको छ । जेजेरो कार्टरमा कुनै बेला ताल भएको अनुमान गरिन्छ । त्यही भएर मंगल ग्रहमा विगतमा जीवन सम्भव थियो कि थिएन भन्ने अध्ययन गर्न नासाले सोही क्षेत्रमा यान पठाएको हो ।

२.७ अर्ब डलर खर्च भएको दुई वर्ष लामो यो अभियानको मुख्य उद्देश्य रातो ग्रह भनेर पनि चिनिने मंगल ग्रहमा जीवनको अवशेष खोज्नु हो। सूर्यदेखि चौथो टाढाको ग्रहमा ३ अर्ब वर्षपहिले न्यानो र पानीको मात्रा भएकाले त्यहाँ जीवन सम्भव थियो भन्ने वैज्ञानिकहरूको अनुमान छ।

पर्सिभिरेन्सले जेजेरो कार्टरको सतहमा उत्खनन् गरेर अवशेषको अध्ययन गर्ने छ। नासाका वैज्ञानिकहरूले अमेरिकाले मंगल ग्रहमा पठाएका २० मध्ये यो सबैभन्दा महत्वाकांक्षी मिसन भएको बताएका छन् ।

पर्सिभिरेन्सले आफूसँग एउटा सानो हेलिकप्टर पनि लिएर गएको छ। आफैं चार्ज भएर त्यो हेलिकप्टर मंगल ग्रहमा उड्ने छ। एक ग्रहबाट अर्को ग्रहमा उडाइएको यो पहिलो उडान हुनेछ। यदि उडान सफल भयो भने १।८ किलोग्रामको उक्त हेलिकप्टरले मंगल ग्रहको हवाइ अवलोकन गर्नेछ।

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update