-प्रा. कृष्ण खनाल
काठमाडौँ — राज्यले कुनै कागज दिएर हामी नागरिक भएका होइनौं । हामी जन्मेदेखि यो धर्तीका नागरिक छौं । हामी अरुले दिने कागज पर्खिदैनौं । त्यो त एउटा औपचारिकता होला । हामी कोही पनि अनागरिक होइनौं । राज्यले प्रमाणित गर्नुपर्ने नागरिक होइनौं । हामी अहिले उभिएर पनि त्यो दाबी गरिरहेका छौं । हाम्रो यो अधिकार कुनै संविधान, कुनै राज्य र कुनै सरकारले खोस्न सक्दैन ।
आज हामी यहाँ उभिएका छौं, हामी सबैको हातमा प्लेकार्ड छ । राष्ट्रपतिको शीतल निवास नजिकै छ । हाम्रो लक्ष्य थियो त्यहाँ पुगेर यो कागज देखाउने । तिमी साक्षी बसेको संविधानको हालत के छ ? तिमी साक्षी भएर कति ठाउँमा संविधानको उल्लंघन भएको छ । उनको आँखा र कान खुल्ने गरेर देखाउने हाम्रो उद्देश्य थियो । तर राज्यले हामीलाई यहीं छेक्यो । तर सुरक्षाको आड धेरैदिन टिक्दैन । हामी आज अनुशासित छौं ।
हामीलाई आज कुनै कानुनले अनुशासित गरेको होइन । हाम्रो चेतनाले, हाम्रो गन्तव्यले अनुशासित गरेको छ । हाम्रो चेतना र हाम्रो कर्तव्यले जब यो भन्दा अगाडिको बाटो माग गर्छ, हामीलाई कसैले छेक्न सक्दैन । यस्ता छेकबार हामीले धेरैपटक पार गरिसकेका छौं । यो भन्दा ठूलो छेकबार थियो २०६२/६३ को जनआन्दोलनमा । त्यो बेला सबैलाई तोडेर अगाडि बढेको हो । यो नसोच्नु कि, नागरिकहरु आज यहीं नै रोकिए । हामी हाम्रो चेतना र कर्ममा विश्वास गर्दछौं । हामी त्यहाँ कुन दिन पुग्ने हो हामीलाई थाह छ । समय आउँदा हामी पछि पर्दैनौं । शीतल निवासमात्रै होइन, बालुवाटारमात्रै होइन, हामी न्यायालयलाई पनि भन्न चाहन्छौं, तिमीले जोगाउनुपर्ने संविधानको हालत कहाँ छ आज ? किन न्यायालयका अधिकारीहरु, प्रधानन्यायाधीशहरु लगायत उल्लघंनको साक्षी बनिराखेका छन् ? र त्यो उल्लघंनको साक्षीको समाचार हामीले हेर्नुपरेको छ । हाम्रो आवाज त्यहाँ पनि पुग्दछ । केवल उनीहरुले यो नठानुन कि, अदालत भनेको कानुनको डिग्री बोकेर कालो कोट लगाएर पुग्नेहरुले मात्रै रक्षा गर्ने होइन ।
मलाई लाग्दछ, संविधानमाथि आएको चुनौती, लोकतन्त्रमाथि आएको चुनौतीलाई अदालतले जोगाइदिएका उदाहरणहरु थोरै मात्रै छन् । जुन दिन नागरिकहरु सडकमा आफैं उत्रिदैनन् त्यो दिनसम्म यो संविधान जोगिँदैन । हामी संविधान जोगाउनमात्रै पनि आएका होइनौं । संविधानलाई हामीले एउटा पहिरनका रुपमा लिएका छौं । एउटा सिस्ट र सभ्य पहिरनका रुपमा । हामी एउटा पहिरनमा छौं । होला हाम्रो पहिरनमा विविधता छ । हामी सबैलाई थाह छ, पहिरनबिना हामी कस्ता छौं भनेर । राज्य कहिलेकाहीं त्यो जंगली अवस्थामा पुग्दछ । त्यसलाई पनि पहिरनको आवश्यकता पर्दछ भनेर हामीले संविधान निर्माण गरेका हौं । आज त्यो पहिरन च्यातिएको छ । लज्जाबोध हुनुपथ्र्यो, राष्ट्रपतिलाई पनि । आज त्यो पहिरन च्यातिएको जानकारी गराउन पनि हामी आएका हौं । हामीलाई यो दिन पनि आउनु नपरोस् कि, त्यो च्यातिएको पहिरन हामी आफैंले फेरिदिनुपरोस् । चाहे शीतल निवास होस्, चाहे बालुवाटार होस् चाहे सर्वोच्च अदालत नै किन नहोस् । हामी कुनै पनि ठाउँमा जान चाहन्छौं । नागरिकहरुलाई कसैले छेक्दैन । हामी आफ्नो विवेक, आफ्नो चेतना र आफ्नो कर्मले परिचालित छौं ।
धेरै मानिसहरुलाई लाग्छ होला, नागरिक आन्दोलन केवल संसद् पुनस्स्थापनाको लागि होला ? हामीले आफैंलाई प्रश्न गरिरहेका छौं, हाम्रो गन्तव्य कहाँसम्म हो त ? हामी आफैंले आफैलाई जवाफ दिइरहेका छौं, यो भूमिमा जुन दिनसम्म नागरिक रहिरहन्छ, त्यो दिनसम्म चलिरहन्छ । यो कुनै सत्ताको लागि गन्तव्य होइन । कसैलाई लाग्ला यो आन्दोलन संसद् पुनस्स्थापना भएपछि सकिएला ? कसैलाई पद प्राप्त भएपछि सकिएला ? तर हाम्रो आन्दोलन सकिँदैन । यो चेतनाको आन्दोलन हो । यो विवेकको आन्दोलन हो । यो मुक्तिको आन्दोलन हो ।
हामी प्रस्ट छौं, संविधानले मात्रै हामीलाई मुक्ति दिने होइन । मुक्तिको एउटा अनन्त बाटो छ । त्यो बाटोमा नागरिक निरन्तर लागिरहन्छ । यसका आयामहरु बदलिन्छन् होला । अहिले हामी बृहत् नागरिक आन्दोलन भएर उपस्थित भएका छौं, भोलि अरु नै व्यानर थपिएला । त्यसैले यो निरन्तर चलिरहन्छ । नागरिक चेतनाबिना समाज गतिशील हुँदैन । समाजको गति निर्माणका लागि चेतना र मुक्तिका आवाजबिना सम्भव छ ? जब जब आवश्यकता पर्दछ त्यसको रुप अलि कडा हुन्छ र त्यसले निर्णायक रुप लिन्छ । अहिले हामी एउटा निर्णायक विन्दुमा पुग्दैछौं ।
यो संसद् पुनस्स्थापना हुँदैमा फोहोर बढारिँदैन । राजनीति नै सुर्धानु जरुरी छ । हामीले १२/१५ वर्ष हेर्यौं । हामीलाई २०६२/६३ कै आन्दोलनको बेलामा दिक्क लागिसकेको थियो । यिनीहरुबाट सुधार हुँदैन भनेर । हामी त्यसमा सचेत थियौं । तर पनि हामीले एउटा मौका दियौं । सुध्रिउन् भनेर मौका दिएको । अब त्यो मौका नागरिकहरु दिनेवाला छैनन् । चाहे पुष्पकमल दाहाल हुन्, चाहे माधव नेपाल हुन्, चाहे खड्गप्रसाद ओली हुन्, चाहे शेरबहादुर देउवा वा रामचन्द्र पौडेल । यिनीहरुबाट चल्दैन भन्ने प्रस्ट सन्देश पनि हामी दिन चाहन्छौं । कसैको पक्षमा, कुनै राजनीतिक पक्षमा उभिएको नागरिक जमात होइन । आफ्नै चेतनाले स्वतन्त्रताका निम्ती अगाडि बढेको जमात हो । यो पदका खेलहरुमा सीमित हुँदैन ।
राजनीतिमा जमेका फोहोरहरुलाई झिक्दै फाल्दै गर्ने बेला आएको छ । त्यसैले कसैलाई भ्रम नहोस् कि, नागरिक आन्दोलन अदालतको निर्णयमा गएर टुंगिन्छ । अदालतले के निर्णय गर्छ त्यसको पनि हामीलाई पर्वाह छैन । उनीहरुले निर्णय गर्दाखेरी नागरिकको चेतना र अभिमत पनि सोचुन् भन्ने हो । तर तिम्रो निर्णयसँग नागरिक आन्दोलन सीमित भएर बस्दैन । विद्यमान असमानता, अन्याय सबैलाई तोड्दै नागरिक चेतनालाई अभिछिन्न राख्दै, नागरिक विवेकलाई अभिछिन्न राख्न यो आन्दोलन अगाडि बढछ ।
(शुक्रबारको बृहत् नागरिक आन्दोलनमा प्राध्यापक खनालले दिएको मन्तव्यको सम्पादित अंश)